सिमानामा काँडेतार लगाउन माग गर्दै सरकारलाई ज्ञापनपत्र

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ११ : २७


काठमाडौं । भारतले नेपालको लिपुलेकमा निर्माण गरेको सडकको विरोध गर्दै युवा संघ नेपाल र अनेरास्ववियूले सिमानामा काँडेतार लगाउन सरकारसँग माग गरेका छन्।

भारतले गत शुक्रबार तावाघाट लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई विरोध गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सिमानामा काँडेतार लागउन माग गरेका हुन्।

युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा (दिपशिखा)ले छापमार शैलिमा मिचिएको भूमि फिर्ता गराउन र सिमामा काँडेतार लगाउन माग गर्नुभयो।

उहाँले  भारतबाट देशको सिमानाका दर्जनौं ठाउँमा मिचिएको तथ्यहरु सार्वजनिक हुँदा समेत सरकारले कुटनीतिक पहललाई प्रभावकारी बनाउन नसकेकोले समस्या आइरहेको बताउनुभयो।

उहाँले सिमानाको रक्षाका लागि सुरक्षा फौज राख्न, सिमानामा काँडेतार लगाउन र सीमा सम्बन्धी दिर्घकालिन समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल गर्न आग्रह गर्नुभयो।

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले ज्ञापन पत्र बुझ्दै नेपालको भूमिमा भारतले सडक बनाएको विषयमा सरकार जानकार रहको र सरकारले आफ्नो दृष्टिकोण परराष्ट्र मन्त्रालय मार्फत सार्वजनिक गरिसकेको बताउनुभयो। उहाँले एक पक्षिय ढंगले भएका गतिविधिहरु दुई देशका प्रधानमन्त्री तहमा भएको कुटनीतिक संयन्त्र निर्माण गरि समाधान गर्ने सहमति विपरित भएको समेत बताउनुभयो । उहाँले सरकारले फेरीपनि यो समस्याको समाधान कुटनीतिक ढंगले गर्न पहल गरिराखेको बताउनुभयो।

युवा संघ र अनेरास्ववियूले गत वर्ष भारतले नेपाली भूमि समेटेर सार्वजनिक गरेको नक्सा खारेजी गर्न र नेपाली भूमिमा बनाएको सडक सञ्चालनमा रोक लगाउन पनि माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्