उपत्यकामा सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : १०


काठमाडौं । आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ लागु गरिएको छ।

सरकारले अत्यावश्यकीय क्षेत्रहरु सञ्चालन गर्ने निर्णय गरेसँगै आइतबारबाट सवारी साधनमा ‘टाइम कार्ड’ लागु गरिएको हो।

सरकारी तथा वित्तिय क्षेत्र सञ्चालन गर्न दिने निर्णय सरकारले गरेपछि सवारीलाई व्यवस्थापन गर्न ‘टाइमकार्ड’ प्रणाली जारी गरिएको हो।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सरकारी सेवा, बैंक तथा वित्तिय क्षेत्र, निर्माण क्षेत्र अत्यावश्यक सामान बोक्ने सवारीहरु व्यवस्थापनका लागि ‘टाइमकार्ड’ प्रणाली लागु भएको बताउनुभयो।

ढकालका अनुसार सरकारी कार्यालयका सवारी विहान ९ देखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र साँझ ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्ने नियम लागु भएको छ।

यस्तै बैंक तथा वित्तिय क्षेत्रका व्यक्तिहरुले दिउँसो ३ देखि ५ बजेसम्म घर फर्किसक्नु पर्ने र अन्य अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारीहरुले विहान १० बजेभित्र गरिसक्नु पर्ने नियम लागु भएको उहाँले बताउनुभयो।

निर्माण क्षेत्रका सवारीहरुलाई राति ८ बजेदेखि विहान ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको उहाँले बताउनुभयो।

प्रमुख ढकालले पासबाहक सवारी चालकलाई पासको दुरुपयोग नगर्न आग्रह गर्नुभएको छ। पासको दुरुपयोग भएको पाइएमा पास थुत्ने र गाडी होल्न गरिने उहाँले बताउनुभयो।

विभिन्न उद्योग तथा प्रतिष्ठानले सम्बन्धित नियामक निकायबाट आधिकारिक पत्र लिएर मात्रै सवारी सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो। अत्यावश्यक क्षेत्रका सवारी सञ्चालन भएसँगै उपत्यकामा सवारीको चाप बढेको छ।


प्रतिक्रिया दिनुहोस्