एकान्तबास र मन

प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार


निलिमा पुन

एकदिन एकान्तबासबाट मन
उड्दै उड्दै मेरो अतीतसम्म पुग्यो
बालालापनसँग खेल्यो 
म हुर्केको पाखापखेरो चहार्यो
आमाको अघिपछि गर्दै मामाघर गएको 
बाबाआमाले यानीमाया गाउँदा
आमाको काखमा निदाएको 
घरपारिको सानो स्कुल गएर
कालोपाटीमा ढुंगाको खरीले
क ख लेखेको सम्झायो
पहिलोपटक नयाँ कपीकलम पाउँदा 
खुशी भएको
एउटै स्कुलमा दश कक्षासम्म नहुँदा 
बर्ष बर्षमा नयाँ स्कुल फेरेको
बच्चामा चकचक गरेको 
घाँस काट्दा हात काटेको
एक खुट्टे खेल्दा नङ ठोक्किएको
पिङ खेल्दा माथिबाट झरेको 
निदाएको मौका पारेर
दिदीले दाँत उखेल्दिएको 
स्कुल जाँदा हावाहुरीमा परेको 
भोक लाग्दा चुत्रो, ऐंसेलु टिपेर खाएको 
वनमा गाई चराउँदा असिना पानीले कुटेको 
यी सबै अतीत खोजेर मनले
मेरा आँखा अगाडि राखिदियो
म दर्शक बनेर दिनैभरि हेरिरहे
लाग्यो म जन्मेको धेरै बर्ष भइसकेछ

बरालिँदै मन पुराना एल्बमतिर गयो 
सँगीहरुसँगका फोटा देख्दा 
हाईस्कुल पढ्दाका याद आयो
परिस्थितिबस टाढा भएका  
सम्झनाहरु नजिकै ल्याइदियो
फेरि मन पुराना डायरीहरुमा डुल्यो
पचास सालमा लेखिएको एउटा दैनिकी पढेँ
पहिलोपटक घर छोडेर काठमाडौं 
आउँदाका दिनहरू सम्झेँ
अबोध, निश्छल, आफैलाई बालापनले 
नछाडेको त्यो उमेर सम्झेँ
त्यतिबेलाको परिवेशहरु सम्झेँ
यी सबै श्रृङखलाहरुले मलाई धेरै टाढा पुरायो 
सोचें, यो बेलामा मलाई कसैले नबोलाए हुन्थ्यो
मन डायरीका पानाहरुमै डुब्यो
हेर्दै जाँदा धेरैपटक रोएँ
कतै खुशी पनि भएँ
जानीनजानी लेखिएकाका हरफहरु 
पढ्दा थाहा पाएँ अपरिपक्व अवस्थाबाटै
सँघर्ष गर्न सिकेको रहेछु
कठिन घडीहरुबाट गुज्रिएको रहेछु
अप्ठ्याराहरुसँग जुधेको रहेछु
साँच्चै जिन्दगीमा धेरै गुमाएर
थोरै प्राप्त गरेको रहेछु 
ती यात्रा संस्मरणहरुबाट
एकपटक फेरि गाउँदेखि शहरसम्म
देशदेखि परदेशसम्म घुमेको सम्झेँ
यात्रामा भोगेका ती कठिनाइहरुले नै 
जिन्दगीलाई सुन्दर बनाएको रहेछ
फर्केर हेर्दा बितेका समय
वर्तमानलाई प्रेरणादायी बन्दारहेछन्
मनले मलाई विगततिर फर्कायो
आफ्नै जीवन पढ्न लगायो
सबैसँग भेट गरायो
म जहाँ जहाँ पुगेको थिएँ
फेरि त्यहीँ पुरायो
प्रेरणा र हौसला बटुलेर
मलाई नै थपिदियो

घुम्दै घुम्दै मन फेरि एकान्तमाबासमा 
फर्कियो अनि सोच्यो 
यो महामारीले राम्रै पाठ सिकायो
मान्छेलाई आफ्नै नियन्त्रणमा राख्यो 
घरघरमा बस्ने गरायो
आफैमाथि भर पर्न लगायो
जीवन के हो ? मृत्यु के हो ?
सबैलाई सचेत बनायो
धनसम्पत्ति ठूलो ठान्नेलाई 
जीवनको महत्व बुझायो
ठूलोसानो, धनिगरीबबीचको 
विभेदकारी सोंच बदलिदियो
मान्छे पहिले सबै हतारमा हुन्थे
अहिले सबै विश्राममा छन्
पहिले बस्ने समय थिएन
अहिले हिड्ने अनुमति छैन
पहिले हिडेर थाकिन्थ्यो
अहिले बसेर थाकिन्छ
पहिले काम नगरी बस्नु थिएन
अहिले बस्ने बाहेक अरु काम छैन
उल्टो भनौं कि सुल्टो भनौं ?
सुखको दिन कल्पनामा मात्र थियोे
बसेर हुन्न भन्ने सिद्धान्त मनमा थियोे
अहिले यस्तो विपनामै मिल्यो
यो मौका हो कि बाध्यता !
नियमहरु एक्कासी परिवर्तन भए
कसैलाई बसीबसी खाने दिन आए
कसैलाई एकछाक नपाएर रुने दिन आए
साँच्चै मनले एकान्तबासमा बसेर
जिन्दगीको हिसाबकिताब गरायो
मानवजातिकै भविष्य सोच्न बाध्य बनायो ।
 


प्रतिक्रिया दिनुहोस्