अमेरिकामा रहस्यमय लक्षण देखिएर बालबालिकाको मृत्यु हुन थालेपछि चिकित्सक चिन्तित

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : ३४


न्यूयोर्क । अमेरिकामा रहस्यमय लक्षण देखिएर बालबालिकाको मृत्यु हुन थालेपछि चिकित्सक चिन्तित भएका छन्। 

अमेरिकाको न्यूयोर्कमा दुर्लभ लक्षण देखिएर बालबालिकाको मृत्यु हुन थालेपछि यस बारेमा नयाँ जानकारी प्रकाशमा आएको छ। बालबालिकामा यो लक्षण कोरोनाभाइरसका कारण देखिएको अधिकारीको आशंका छ। यदि यो आशंका सत्य भएमा अमेरिकामा कोरोनाभाइरस र बालबालिकाको सम्बन्धमा नयाँ संकट उत्पन्न हुन सक्नेछ। अहिलेसम्म अमेरिकाको न्यूयोर्कमा यो दुर्लभ लक्षणबाट ३ बालबालिकाको मृत्यु भइसकेको छ। 

न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले यो दुर्लभ सिन्ड्रोमका नयाँ लक्षणहरुले महामारीका कारण बालबालिकाको सुरक्षालाई लिएर चिन्ता बढेको बताएका छन्। अहिलेसम्म कोरोनाभाइरसका कारण हुने श्वास प्रश्वाससम्बन्धी समस्यासँग लड्न बालबालिका धेरै हदसम्म सक्षम भएको मानिएको थियो । गभर्नर कुओमोका अनुसार स्वास्थ्य अधिकारीहरुले यस्ता ७३ केस भेटेका छन् जहाँ कोरोना संक्रमित बालबालिकामा यो दुर्लभ सिन्ड्रोमका लक्षण देखिएका छन्। यो रहस्यमय सिन्ड्रोमका लक्षण टक्सिक शक र कावााकी रोगसँग मिल्दोजुल्दो छन्। 

यो सिन्ड्रोममा बालबालिकालाई ज्वरो आउँछ, छालामा निशान पर्छन् र ग्रन्थीहरु सुन्निन्छन्। गम्भीर केसहरुमा मुटुका धमनीहरु पनि सुन्निन्छन् । यी बालबालिकाहरु कोरोना वा एन्टिबडी टेस्टमा पोजेटिभ पाइएका थिए । तर जब उनीहरुलाई अस्पताल ल्याइएको थियो त्यतिबेला सिन्ड्रोमका लक्षण थिएनन्।

यो सिन्ड्रोम र कोरोनाभाइरसको बीच कुनै सम्बन्ध छ कि छैन भन्ने अहिल्यै भन्न सकिने अवस्था नरहेको गभर्नर कुओमोले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस्