मर्निङ वाकमा मिस्किएका नेपालका लागि पूर्व बेलायती राजदूत पाँच दिनदेखि बेपत्ता

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ४०


लण्डन । नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् । लण्डनको प्रहरीले उनी हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ । बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजीकार्य थालनी गरेको छ ।

प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ । उनी हराएको पाँच दिन बितिसक्दा समेत कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए । रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्