हेलिकप्टरबाट सुत्केरीको उद्धार

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : ३४


अछामकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्जस्थित कोहलपुर मेडिकल अस्पताल भर्ना गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई अत्यधिक रक्तश्राव भएपछि उद्धार गरी उक्त अस्पताल भर्ना गरिएको हो। 
     
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले खबर गरेलगत्तै महिलालाई निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको थियो । ती महिला २५ दिनअघि भटाकाटिया स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएको र पेटको दुखाइ बढेपछि आज बयलपाटा अस्पताल पु-याइएको थियो। 

उपचारका क्रममा सुत्केरीका पेटमा अत्यधिक रक्तश्राव भएको पाइएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा पठाइएको बयलपाटा अस्पतालका स्वास्थ्य निर्देशक डा विकास गौचनले जानकारी दिनुभयो। अहिले ती सुत्केरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रजिअ पौडेलले बताउनुभयो। उहाँले लकडाउनले मुलुक ठप्प भएका बेला मन्त्री गुरुङको पहलमा ती सुत्केरीको तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उपचारको व्यवस्था गर्न सकिएको बताउनुभयो।
     
महिला मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । हालसम्म १०१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिनुभयो। 


प्रतिक्रिया दिनुहोस्