कोरोना भाइरस परीक्षणको दायरा बढाउँदै स्वास्थ्य कार्यालय

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : २९


दाङ । विश्वभर कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला संक्रमितको पहिचान गरी कोरोना नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालय दाङले परीक्षणको दायरा बढाएको छ । कोरोनाको सन्त्रास नेपालमा दिनानुदिन बढिरहेको बेला जिल्लालाई कोरोना संक्रमणबाट सुरक्षित राख्न जिल्ला स्वास्थ्य कार्यालयले कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाएको हो ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको संख्या बढिरहेको भन्दै भारतबाट खुला सिमानाका कारण नेपालीहरु भित्रिन नछाडेकाले जिल्लामा प्रवेश गरेका नागरिकहरुलाई जिल्लाका विभिन्न पालिकाले बनाएका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको कोरोना परीक्षण गर्न शनिबार १०० जनाको स्वाव लिइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलका अनुसार हाल जिल्लाका विभिन्न पालिकामा गएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाव लिइएर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुको स्वाव लिने क्रममा स्वास्थ्य कार्यालय प्रमुख पौडेलको नेतृत्वको टोलीले आज शनिबार तुलसीपुर उपमहानगरपालिकाका ४१ जना, शान्तिनगर गाउँपालिकाका १० र  बबई गाउँपालिकाका ४९ जना गरी १०० जनाको स्वाव लिइएको हो । कोरोनाका लागि जोखिम क्षेत्र मानिए पनि दाङ हालसम्म सुरक्षित भएको र दाङवासीहरु सजग भए आगामी समयमा पनि सुरक्षित रहने भन्दै कसैलाई पनि कोरोनासम्बन्धी गलत अफवाह नफैलाउन र भयभित नहुन समेत स्वास्थ्य कार्यालय प्रमुख पौडेलले अनुरोध गर्नुभयो ।
 


प्रतिक्रिया दिनुहोस्