उपत्यकामा भोलिबाट गाडी चलाउन ‘टाइम कार्ड’ लागू

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : ४६


काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकामा सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू हुने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारीबीच भएको बैठकले गाडी चलाउनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।

अब तोकिएको समयमा मात्र गाडी चलाउन पाइने भएको छ।

सरकारी कार्यालयका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ।

यस्तै, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने छ।

त्यसैगरी बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने समय तोकिएको छ।

निर्माण सामग्री बोक्ने गाडीलाई राती ८ बजेदेखि बिहान ६ बजेसम्म चलाउनु अनुमति दिइएको छ। औषधि र पानी बोक्ने गाडीका हकमा भने समय निर्धारण गरिएको  छैन।

लकडानका बीच सरकारले अनुमति दिएका कार्यालय, संस्था र सेवाका सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ।


प्रतिक्रिया दिनुहोस्