नेपाली भूमि अतिक्रमणबारे बोल्न सरकारलाई नेकपा प्रवक्ता श्रेष्ठको आग्रह

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ३०


काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरी मानसरोवरसम्म पुग्ने बाटो उद्घाटन गरेकोप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउँदै सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ।

नेकपा सचिवालय सदस्यसमेत रहनुभएका श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नुपर्ने बताउनुभएको हो।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले विवादित भूमि भनेर स्वीकार गरेको ठाउँबाट सडक बनाएर उद्घाटन गर्नु आपत्तिजनक भएको ट्वीटरमा लेख्नुभएको छ। श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमीमा सडक बनाइ हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु। हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुध्द सरकारले तु कदम चालोस्।’

भारतले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर मार्गसँग जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको छ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुटको शुक्रबार उद्घाटन गरेका थिए।

भारतले धार्चुलाको घटियागाढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक निर्माण गरेर नेपालको भूमिसमेत अतिक्रमण गर्दै सो मार्ग सञ्चालनमा ल्याएको हो।

यहीँ सन्दर्भमा नेकपाका प्रवक्ता श्रेष्ठले भारतको उक्त कदमको सरकारले विरोध गर्दै तत्काल पहल गर्नुपर्ने बताउनुभएको हो।

सरकारले भने अहिलेसम्म यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

 

 

 


प्रतिक्रिया दिनुहोस्