लकडाउनको विरोध भइरहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : १०


ब्राजिल । लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएको ब्राजिलमा कोरोनाबाट एकै दिन ८ सय बढी व्यक्तिको मृत्यु भएको छ । यो एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएको सङ्ख्या मध्ये हो।

पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ८०४ जनाको मृत्यु भएको छ भने १० हजार १ सय ९९ जना नयाँ संक्रमित थएिका छन् । यो सँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९२ पुगेको छ भने १ लाख ४५ हजार ८९२ जना संक्रमित भएका छन्। 

राष्ट्रपति जाइर बोल्सोनारुको सरकारले मेयर र क्षेत्रीय गभर्नरले लकडाउन जारी राखेमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएको छ। अर्थमन्त्री पाउलो गेदेजले ब्राजिलका नागरिकहरूले केही महिनाभित्र खाद्यान्नको अभाव र सामाजिक अशान्तिको सामना गर्नुपर्ने बताए। 

विज्ञहरूले ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जाने व्यक्तिहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्। तर अझै पनि राष्ट्रपति बोल्सोनारुले व्यापार, व्यवसाय, विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द राख्ने राज्यहरूको निर्णयविरुद्ध आफूलाई प्रस्तुत गर्दै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस्