अमेरिकामा २ करोड मानिसको जागिर गयो, अर्थतन्त्रमा ऐतिहासिक गिरावट

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : १४


अमेरिका । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा यो वर्षको अप्रिलमा २ करोडभन्दा बढी मानिसले जागिर गुमाएका छन्। 

कोरोना महामारीको सुरुवातदेखि नै त्यसको प्रभाव अमेरिकी अर्थव्यवस्थामा देखिन्छ। अमेरिकामा अहिले कोरोनाका कारण पसलहरु बन्द छन् भने खुद्रा बिक्रीको रेकर्डमा गिरावट आएको छ। अमेरिकामा देखिएको पछिल्लो स्थिति ऐतिहासिक भएको अर्थशास्त्री एरिका ग्रोसेनले बताइन् । 

महामारीका कारण त्यहाँको बेराजगारी दर १४.७ प्रतिशत पुगेको छ। यसले सन् १९३० को महामारी पछिकै सबैभन्दा खराब स्थितिको संकेत गरेको छ। 

दुई महिनाअघिसम्म अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत थियो, जुन विगत पचास वर्षमा सबैभन्दा कम हो । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेराजगारी दर बढ्ने पहिल्यै आशंका गरिएको तर भविष्यमा अर्थव्यवस्था मजबुत बन्दै जाने दाबी गरेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित हस्पिटालिटी (आतिथ्य) क्षेत्र भएको छ, जहाँ ७७ लाख जनाको रोजगारी गुमेको छ। त्यस्तै शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा करिब २५ लाख जनाको रोजगारी गुमेको छ। त्यस्तै खुद्रा बजार क्षेत्रमा २१ लाख मानिसहरुले रोजगारी गुमाएका छन्। विभागका अनुसार १ करोड ८१ लाख जनाको काम अस्थायी रुपमै समाप्त भएको छ। यद्यपि, धेरै कम्पनीहरुले परिस्थिति सुधार भएर अर्थव्यवस्था पनि सुध्रिने आशा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्