सप्तरीको उत्तरी भेगमा जङ्गली हात्तीको त्रास

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : २५


सप्तरी । मध्यरातमा जङ्गली हात्ती गाउँ प्रवेश गर्न थालेपछि सप्तरीको उत्तरी भेगका अधिकांश क्षेत्र त्रसित बनेका छन् । 

मध्यरात भएपछि दिनहुँजसो हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि यस भेगका बासिन्दा त्रसित बनेका हुन्।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीको समूहले सप्तरी जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई दैनिक हैरान पार्ने गरेको छ।

आरक्षबाट आएको तीन हात्तीको समूहले बिहीबार राति अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको छ।

बिहीबार बिहान मात्रै हात्तीको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको मृत्यु भएको थियो। 
    
अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मोहनपुरस्थित घरसहित भर्खरै भित्र्याइएको अन्न, पशुआहारासमेत गरी करिब रु साढे एक लाख मूल्य बराबरको खाद्यान्न क्षति गरेको पीडित बञ्जाराले बताउनुभयो।

लकडाउनमा बेरोजगार भइ आयस्रोत कम भएका बेला हात्तीले घर र खाद्यान्न क्षति गर्दा मर्कामा परेको पीडित राईले बताउनुभयो।

लदिनभरि नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको मोहनपुरका बाबुराम बस्नेतले जानकारी दिनुभयो। 

भत्किएको घरको मर्मतसम्भार र नोक्सान भएको अन्नको क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन छिमेकी बाबुराम बस्नेतले स्थानीय सरकार र सम्बन्धित निकायसँग माग गर्नुभएको छ।

जङ्गली हात्तीको आतङ्क रोक्न पहल नभएकाले मानवीय र भौतिक क्षति बढ्दै गएको उहाँले बताउनुभयो।

चार दिनअघि सोही गाउँपालिका—२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहँु, चामललगायतका खाद्यान्न खाएको थियो।

हात्ती आँगनमा पसेपछि गत साता वडा नं ६ महुलीका भुवन आचार्य भागेर ज्यान जोगाउँदा लडेर घाइते हुनुभएको थियो । गत शनिबार खड्क नगरपालिका–७ मा हात्तीले घर भत्कायो भने आइतबार सप्तकोशी नगरपालिका–५ मा हात्तीले बालीमा क्षति पु¥यायो।
 
हात्तीको त्रासले गाउँलेहरु जाग्राम बसेर रात काट्ने गरेका छन्। बर्षौदेखि हात्ती आउने गरेको जानकारी दिँदै शम्भुनाथ नगरपालिका–२ का बाबुराम घिमिरेले कहिलेकाहीँ हात्ती आक्रोशित भइ घर तोडफोड र मानिसमाथि नै आक्रमण गरेर ज्यान लिने गरेको बताउनुभयो।

हात्तीले घर पनि भत्काउने र खाने सामग्रीसमेत नष्ट गरिदिने हुनाले एकैसाथ बस्ने र खाने समस्या परेको श्यामकुमार रामले चिन्ता व्यक्त गर्नुभयो।

“लकडाउनको समयमा घरबाहिर ननिस्कन भनिएको छ, हात्तीले घरबारविहीन बनाएको छ”, वीरेन्द्र रामले भन्नुभयो, “लकडाउनले बेरोजगार बनायो र बनिबुतो गरेर जम्मा गरेको खाद्यान्नसमेत हात्तीले नष्ट गर्दा खाना र बासको समस्या एकसाथ आइलाग्यो।”

आरक्षबाट निस्किने हात्तीको समूहले दैनिकजसो अग्निसाइर कृष्णसवरण, रुपनी गाउँपालिका, कञ्चनरुप, सप्तकोशी, शम्भुनाथ, सुरुङ्गा, खड्क, हनुमाननगर कंकालिनी नगरपालिकालगायतमा बालीनाली सखाप पार्ने, घर तोडफोड गर्ने र व्यक्तिमाथि आक्रमण गर्न थालेको छ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पछिल्लो दुई सातादेखि लगातार हात्तीको आतङ्क बढेपछि स्थानीयवासी दैनिक जाग्राम बस्नुपरेको पीडित बताउँछन्।


प्रतिक्रिया दिनुहोस्