नेकपामा विवाद चुलिदो, संकटमा प्रधानमन्त्री ओली

dainikonline
दैनिक अनलाइन | बैशाख २४, २०७७ बुधबार | 0

सत्तारुढ दल  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद चुलिन थालेको छ।

गत शनिवारको सचिवालय बैठकले मत्थर पारेको भनिएको विवाद फेरि सतहमा देखिन थालेको हो।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वभाविक रुपमा झोंकले बाहिरिएको खबरले आन्तिरक संकट उजागर गरिदिएको छ।

मुख्य अध्यक्षनै बाहिरिएपछि नेकपाले आज कुनै निर्णय गर्न सकेन। जसका कारण भोलिका लागि बोलाइएको स्थायी समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

अर्को बैठक कहिले बस्ने भन्नेबारे मितिको टुगों अझै लागेको छैन।

भोलिको बैठकका एजेण्डाबारे प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच मतभेद रहेका खबर यसअघि नै सार्वजनिक भएका थिए।

बुधबार सचिवालयका अन्य सदस्यले समेत 'एक व्यक्ति एक पद'को प्रस्ताव अघि सारे पछि ओली सहमत हुन सकेनन्। जिम्मेवारी हेरफेर गरेर अघि बढ्ने ओलीको प्रस्तावमा अन्य सदस्य सहमत बनेनन्।

वरिष्ठ नेता माधव कुमार नेपाल सँगै वामदेव गौतमले पनि एउटै भनाई राखेपछि ओली बैठकबाट 'म थाकें' भन्दै बाहिरिएका थिए। जसका कारण स्थायी समिति बैठक पर धकेलिएको बताइएको छ।

बैठक स्थगित भएपछि नेताहरुले प्रश्न उठाउन थालेका छन्। नेकपा नेतृ राम कुमारी झाँक्रीले भागेर समस्या समाधान नहुने बताएकी छन्।

दुई अध्यादेशका कारण आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले यसअघिको सचिवालय बैठकमा आत्मआलोचना गर्दै स्थायी समिति बैठक बोलाउने र नेता वामदेव गौतमलाई सांसद बनाउने निर्णय गरेका थिए।

असन्तुष्ट पक्षलाई अन्य निर्णयप्रति खासै चासो नभएपनि स्थायी समिति बैठक आह्वान गरेकोमा शान्त बनेका थिए।

र भोलिको स्थायी समिति बैठकमा ओली विरुद्ध विस्फोटक प्रस्तुतिको तयारी थियो। सुरु देखिनै बैठकको माग गर्दै आएका वरिष्ट नेता नेपाल र अध्यक्ष प्रचण्ड समुहका स्थायी सदस्यहरुले 'एक व्यक्ति एक पद'को मुद्दा अघि सारेका हुन। तर, उक्त मुद्धामा पनि साझा धारणा तय हुन सकेको छैन।

बालुवाटारमा सचिवालय बैठक चल्दै गर्दा बुधबारनै ललितपुरको झम्सिखेलमा असन्तुष्ट स्थायी समिति सदस्यको भेला पनि बोलाइएको थियो।

उक्त भेलामा बैठकका लागि वैकल्पिक प्रस्ताव भन्दै नेता भीम रावलले ओलीले अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने प्रस्ताव पेश गरेका थिए। कतिपय सदस्यहरु उनको प्रस्तावमा सहमत नबनेको बताइएको छ।

पूर्व सञ्चारमन्त्री तथा ओली निकट नेता गोकुल बाँस्कोटाले त्यस्तै आशयको ट्विट गरेका छन्।

ओली पक्षले असन्तुष्ट पक्षबीच मतभेद रहेको जनाएपनि अन्य नेताहरुले एक ढिक्का भएर प्रस्तुत हुने बताएका छन्।

बहुमत सदस्यहरु विपक्षमा रहेका बेला प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रतिनिधी सभाको सांसद बनाउने र भावी प्रधानमन्त्रीको आश्वासन समेत दिएका छन्।

ओली समूहमा लागेका भनिएका नेता गौतम बुधबारको सचिवालय बैठकमा अकस्मात प्रधानमन्त्रीको विपक्षमा देखिएका हुन।

जसको परिणाम प्रधानमन्त्री ओलीले अबका दिन संकट झेल्नु पर्ने खतरा देखिदै छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय