मान्छेले आफ्नै शरीरको ताप दिएर चराचुरुंगीको अण्डा कोरलेको सुन्नुभएको छ? सायदै छैन होला तर यहाँ एउटा अनौठो र रमाइलो कुरा भएको छ।
अमेरिकाको क्यालिफोर्नियामा एकजना महिलाले आफ्नो ब्राभित्र हाँसको अण्डा राखेर कोरलिदिएकी छिन्।
बेट्सी रोस नामकी ती महिलाले पार्कमा अलपत्र अवस्थामा फेला पारेको हाँसको अण्डालाई आफ्नो ब्राभित्र पैँतीस दिनसम्म राखेर कोरलिदिएकी छिन्। उक्त अण्डाबाट हाँसको बचेरो निस्किएको छ।
समाचार अनुसार क्यालिफोर्नियाको भिसालियास्थित एक सार्वजनिक पार्कमा परिवारसँग हिँडिरहेको बेला उनले क्षतविक्षत अवस्थामा रहेको हाँसको एउटा गुँड देखिन्। उक्त गुँड बाहिर हाँसको एउटा अण्डा थियो। उक्त अण्डामा सानो चिरा परेको भए पनि अरु असर परेको थिएन।
उनीसँगै रहेका उनका छोराछोरीले उक्त हाँसको अण्डा घर लगेर त्यसबाट हाँसको बच्चा निकाल्ने प्रयास गर्न अनुरोध गरे। तर उनले त्यसअघि घरमा कहिल्यै पनि चरा पालेकी थिइनन् र अण्डा कोरल्ने बारेमा उनलाई कुनै ज्ञान थिएन। तर बच्चाबच्चीको जिद्दीका अगाडि उनको केही लागेन र उक्त हाँसको अण्डलाई घर लगिन्।
उनीसँग अण्डा कोरल्ने इन्कुबेटर मेसिन थिएन। त्यसपछि उनले उक्त अण्डालाई आफ्नो छातिमा ब्राभित्र राखिन्। अण्डा कोरलिनको लागि आफ्नो ब्राभित्र छातीमा टाँस्नु नै सबैभन्दा न्यानो तथा उपयुक्त ठाउँ हुने उनले ठहर गरिन्।
उनले छातीमा राखेर अण्डालाई कसरी कोरल्न सकिन्छ भनेर इन्टरनेटमा समेत खोजी गरेकी थिइन्। इन्टरनेटमै सिकेको ज्ञानअनुसार उनले दिनमा दुई चारपटक ब्राभित्रको अण्डालाई ओल्टाइपल्टाइ गर्दथिन्। यसो गर्दा अण्डा कोरलिनका लागि उपयुक्त तापक्रम तथा आद्रता कायम हुन्थ्यो।
उनले उक्त अण्डालाई ३५ दिनसम्म आफ्नो ब्राभित्र दुई वक्षस्थलको बीचमा राखिन्। उनी जहाँ गए पनि त्यो अण्डा उनको छातीमै टाँसिएको हुन्थ्यो र रातमा सुतेको समयमा समेत छातीमै हुन्थ्यो। तर नुहाउने बेलाचाहिँ उनले उक्त अण्डालाई आफ्नो छातीबाट निकालेर आफ्नो पतिको छातिमा राखिदिन्थिन्।
३५औँ दिनमा हेर्दा उक्त अण्डाबाट हाँसको चल्लाको आफ्नो ठुँड बाहिर निकाल्न थालेको जस्तो देखियो। त्यसपछि उनले उक्त अण्डालाई छातिबाट निकालेर एउटा खुल्ला बाकसमा राखिन् ता कि अण्डाको खोल फुटाएर चल्ला सजिलैसँग बाहिर निस्कियोस्।
तर बाकसमा राखेपछि पनि हाँसको चल्लाको ठुँडले अण्डाको खोल फुटाएर बाहिर आउन नसकेपछि उनले पशु चिकित्सकलाई खबर गरिन्। पशु चिकित्सकको परामर्श बमोजिम उनले अण्डाको बाहिर खोललाई बिस्तारै फुटाइन्। त्यसपछि हाँसको चल्ला बाहिर निस्किन सक्यो।
तथापि मानिसले कोरलेको उक्त चल्लाको अवस्था निकै नाजुक थियो। केही दिनको मेहेनतपछि मात्र उक्त चल्ला राम्रोसँग हिँड्न सक्यो।
केही समय पालेपछि रोसले उक्त हाँसको चल्लालाई स्थानीय एक वन्यजन्तु उद्दार फारमलाई दिइन्। सो हाँसको चल्ला अहिले ठूलो भैसकेको छ र वन्यजन्तु उद्दार फार्ममा रमाइरहेको छ।