कोरोना महामारी : अमेरिका र चीनबीच सैन्य टकरावको चेतावनी

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ३९


एजेन्सी । कोरोना महामारीकाबीच चीन र अमेरिकाबीच सैन्य टकरावको स्थिती आउँन सक्ने चेतावनी दिइएको छ।

चीनको एक गुप्तचार संस्थाले आन्तरिक रिपोर्टमा चिनियाँ सरकारलाई अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

रिपोर्टमा कोरोना भाइरस महामारीका कारण अमेरिकासँगको सम्बन्ध बिगार्न सक्ने मात्र नभई सैन्य संघर्षको स्थिती पनि आउन सक्ने चेतावनी दिइएको छ।

विश्वभर फैलिएको कोरोना महामारीबारे चौतर्फी प्रश्नहरु उठिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोनाबारे जानकारी लुकाएको आरोप लगाउँने गरेका छन।

समाचार संस्था रोयटर्सका अनुसार अप्रिलमा चीनको आन्तरिक प्रतिवेदन राष्ट्रपति शी जिन पिङ र अन्य प्रमुख नेताहरू समक्ष पेश गरिएको थियो।

प्रतिवेदनमा चीनले सन् १९८९ को तियानानमेन स्क्वेयर घटना पछि अहिले सबैभन्दा ठूलो विश्वव्यापी विरोधको सामना गरिरहेको उल्लेख छ।

बढ्दो चीन विरोधी भावनाका कारण अमेरिकासँग सशस्त्र मुठभेडको सम्भावना सहित सबैभन्दा खराब अवस्थाको लागि तयार हुनुपर्ने चेतावनी दिइएको छ।

यो रिपोर्ट थिंक ट्यांक चाइना इंस्टिट्यूट अफ कन्टेम्परी रिलेसन्स(सिआाईसिआईआर) ले तयार गरेको हो । सिआईसिआईआर चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयसँ सम्बद्ध छ।

चिनियाँ सरकारलाई चेतावनी दिइएको यो रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन। उक्त प्रतिवेदनबारे जानकार चिनियाँ एक अधिकारीले रोयटर्सलाई जानकारी दिएका हुन।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भने उक्त रिपोर्टबारे आफूलाई जानकारी नरेहेको बताएका छन्।

उक्त प्रतिवेदनबाट चीनले आफ्नो बढ्दो विरोधको भावनालाई गम्भीरतापूर्वक लिएको देखिन्छ। कोरोनाका कारण पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्ध विगत केही दशकको सबैभन्दा खराब अवस्थामा छ।


प्रतिक्रिया दिनुहोस्