नेपालगञ्जमा कोरोना संक्रमण फैलिएपछि प्रदेश सरकारले गर्यो यस्ता निर्णय

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : १८


बुटवल । नेपालगञ्जमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण ह्वात्तै बढेपछि नेपाली सेना र नेपाल प्रहरीको अस्पतालले पनि संक्रमितहरुको उपचार गर्ने भएका छन्।

मुख्यमन्त्री नेतृत्वको प्रदेश नं. ५ को क्राइसिस म्यानेजमेन्ट सेन्टरको बुधबार बसेको बैठकले नेपालगञ्जस्थित नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा पनि कोरोना संक्रमितहरुको उपचार गर्न आवश्यक व्यवस्था गर्ने निर्णय गरेको हो।

यसअघि नेपालगञ्जमा भेरी अस्पताल र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा मात्रै कोरोना संक्रमितहरुको उपचार हुँदै आएको थियो।

त्यस्तै, बैठकले नेपालगञ्जमा कोरोना भाइरस संक्रमणको पहिचानका लागि परीक्षणको दायरा बढाउनुपर्ने भन्दै त्यसका लागि चाहिने स्वास्थ्य उपकरण, कीट लगायतको व्यवस्था गर्न सामाजिक विकास मन्त्रालयलाई समन्वय गर्ने जिम्मा दिएको छ।

त्यस्तै, बैठकले भारतबाट आउने नेपालीहरुलाई आइसोलेसन भएका अस्पतालमा राख्ने, स्वाब परीक्षण गर्ने र शंकास्पद देखिएमा उपचारको व्यवस्था मिलाउने, बाँके, बर्दिया र कपिलवस्तुमा थप ३ हजार बेड क्वारेन्टाइन बनाउने लगायतका निर्णयहरु गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो।

 

हेर्नुहोस् प्रदेश नं. ५ क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकका निर्णयहरु

१. कोरोना भाइरस (कोभिड १९) को उपचारका लागि क्षमता विस्तार गर्नुपर्ने देखिएकोले बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत आवश्यकताअनुसार प्रयोग गर्ने।

२. प्रदेशमा कोरोना भाइरसको खासगरी नेपालगञ्जमा बढी प्रभाव देखिएकोले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री,  पर्सनल सेक्युरिटी इक्वीपमेन्ट, औषधी उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले आवश्यक संयोजन गर्ने।

३. कोरोना भाइरसका शंकास्पद विरामीहरुको पीसीआर परीक्षणलाई जोड दिने। भारतबाट आउनेका हकमा आइसोलेसन बेड भएका अस्पतालमा राखी स्वाव संकलनको व्यवस्था मिलाउने। रिपोर्ट पोजेटिभ देखिएमा कोरोना बिशेष अस्पतालमा पुर्याउने।

४. कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस (कोभिड १९)  रोकथाम तथा उपचार कोषबाट नियमानुसार खर्च गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने।

५. नेपाल भारत सीमा क्षेत्रको सुरक्षासम्वन्धी जनशक्ति, आवश्यक सामग्री र आवास लगायतको समस्याका सम्वन्धमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी कार्ययोजना तयार गर्ने। प्राथमिक उपचारका लागि आवश्यक औषधी र स्वास्थ्यजन्य उपकरण सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउने।

६. स्थानीय श्रमिक प्रयोग गरी संचालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्यहरु संचालनका लागि प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गर्ने। अदक्ष र अर्धदक्ष कामदारका हकमा सम्वन्धित पालिका भित्रकै श्रमिकहरुलाई उपयोग गर्ने र दक्ष कामदारका हकमा प्रदेश भित्रबाट उपलब्ध गराउन सकिने। यसका लागि पालिकाको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले अनुमति दिने ब्यबस्था मिलाउने। 

७. विकास निर्माणसँग सम्वन्धित निर्माण सामग्रीहरुको ढुवानी व्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने।

८. कृषकहरुका लागि आवश्यक बिउ आयात गर्नका लागि सम्वन्धित पालिकाहरुको सिफारिसमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गरी सहजै उपलब्ध हुने व्यवस्था मिलाउने।

९. विद्यालय संचालनका हकमा नेपाल सरकारबाट भएको निर्णयको कार्यान्वयन गर्ने। विद्यालयहरुले संचालन गरेको परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने।

१०.  प्रदेशमा कोरोना भाइरसको संक्रमणको अवस्था हेरी क्षमता बिस्तारका साथै थप आइसोलेसन अस्पतालहरुको योजना सामाजिक विकास मन्त्रालयले तयार गर्ने।

११.  भारतबाट आउन सक्ने नेपालीलाई लक्षित गरी यस पूर्व निर्णय भएका बाँके र रुपन्देहीका साथै कपिलवस्तु जिल्लामा समेत थप तीन हजार क्वारेन्टाइन बेडको व्यवस्था पालिका तहमा गर्ने, यसका लागि प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने।

१२. क्वारेन्टाइनको ब्यबस्थापनका लागि भएको खर्चको बिबरण तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट शोधभर्ना माग गर्ने।


प्रतिक्रिया दिनुहोस्