कोशी अस्पतालमा उपचाररत ६ कोरोना सङ्क्रमितको डिस्चार्ज हुने

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : २०


कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना घर फर्कने भएका छन्। 

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिनुभयो। उहाँले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताउनुभयो। उनीहरु सबै भारतीय नागरिकहरु हुन्। 

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिनु भयो। केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिने लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताउनभयो।  उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ। 

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको  बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिनु भयो। कोभिड अस्पतालमा उपचाररत कोभिड-१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्