हुम्लामा कोरोना परीक्षण रोकियो

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ५८


हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागरिकलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोकिएको छ। जिल्लाका सात स्थानीय तह मध्य तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरिएको छ भने अन्य ६ वटा स्थानीय तहमा किट नहुँदा ठूलो सङ्ख्यामा जिल्लाबाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएका नागरिकलाई परीक्षण गर्न किटको अभाव हुँदा कोडिभ-१९ परीक्षण रोकिएको छ। 

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार कार्यालयसँग भएका सबै किटहरु सकिएका छन्। किट अभावमा परीक्षणको काम रोकिएको हो। प्रदेश सरकारले पहिलोपटक पठाएका कि सबै सकिएपछि परीक्षणमा समस्या निम्तिएको छ। जिल्लाका सातवटै स्थानीय तहमा किट अभाव भएपछि कर्णाली प्रदेश सरकारलाई माग गरेको प्रमुख सिंहले जानकारी दिनुभयो। प्रदेश सरकारलाई किट र स्वाब परीक्षण गर्ने पिसिआरको माग गरेको उनले बताउनुभयो। 

यही वैशाख १८ गतेयता हुम्लामा पैदल मार्गबाट सात सय ७४ र हवाई मार्गबाट चार सय ८० जना नागरिक हुम्ला भित्रिएका छन्। उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने तर त्यसपछि कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्नुपर्ने भए पनि किटको अभाव भएपछि स्वास्थ्यकर्मी नै अन्योलमा परेका छन्। 


प्रतिक्रिया दिनुहोस्