पेरुका विपक्षी नेत्री फुजीमोरी जेलमुक्त

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : ५०


काठमाडाैं । भ्रष्टाचारको आरोपमा कारागारमा रहेकी पेरुकी विपक्षी नेत्री किको फुजीमोरी सोमबार तीन महिनाका लागि जेलमुक्त हुनुभएको छ । राजधानी लिमास्थित महिला कारागारबाट जमानतमा बाहिरिने क्रममा नेत्री फुजीमोरीले मास्क र सेतो ग्लोब लगाउनु भएको थियो ।

जेलबाट बाहिरिनुअघि उहाँले ट्वीटर मार्फत आफूले तत्कालै कोरोनाभाइरसको परीक्षण गर्ने बताउनुभएको थियो । पेरुको अदालतले ४४ वर्षीया फुजीमोरीलाई २० हजार अमेरिकी डलर बुझाएसँगै जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

दुई सन्तानकी आमा फुजीमोरीले कोरिल्लोस महिला जेलमा कोरोनाभाइरस संक्रमण हुने खतरा रहेको भन्दै रिहाईका लागि आग्रह गर्नु भएको थियो । नेत्री फुजीमोरीले घर फिर्ता भएसँगै जारी गर्नु भएको भिडियो सन्देशमा पेरुका कारागारहरुको अवस्था निकै चिन्ताजनक रहेको बताउनुभएको छ ।

फुजीमोरीलाई दुई महिना पहिले जनवरीमा भ्रष्टाचारको आरोपमा थुनामा राखिएको थियो । फुजीमोरीमाथि ब्राजिलको निर्माण कम्पनी ओडीब्रेख्तबाट सन् २०११ को राष्ट्रपतीय निर्वाचनका बखत आफ्नो पार्टीका लागि १२ लाख अमेरिकी डलर घुस लिएको आरोप छ ।

फुजीमोरी पेरुका पूर्व राष्ट्रपति ८१ वर्षीय अल्बर्टो फुजीमोरीकी छोरी हुनुहुन्छ । पेरुमा स्न १९९१ र १९९२ मा भएका दुई वटा आमहत्याका लागि आदेश दिएको आरोपमा अल्बर्टो फुजीमोरी २५ वर्षका लागि जेलमा हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्