रहस्यमयी कोरोना भाइरस कसरी उत्पत्ति भएको थियो ?

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ००


विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कसरी उत्पत्ति भएको होला? अहिले पनि रहस्यकै गर्भमा रहेको यसको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका मन्त्रीहरु शंका एकातिर छ भने अमेरिकी सरकारकै गुप्तचर निकाय, वैज्ञानिकहरु र अमेरिकासहित अन्य शक्तिशाली राष्ट्र सम्मिलित गुप्तचर निकायहरुको दावी भने अर्कै छ।

अमेरिकामै राजनीतिक नेतृत्व र ब्यूरोक्रेसी अनि वैज्ञानिक र अनुसन्धानकर्ताबीचमै कोरोना भाइरसको उत्पत्तिका बारेमा विवाद शुरु भएको छ।

ट्रम्प र उनको सरकार चाहन्छ, चीनको ल्यावबाट यो भाइरस फैलिएको पुष्टि गरौं। तर यथार्थ त्यस्तो केही भेटिदैन। प्रमाणहरु केही छैनन्। बरु वैज्ञानिक तथा गुप्तचरहरुको गहिरो खोज अनुसन्धानबाट यो भाइरस पशुपंक्षीहरुको संसर्गबाट मानिसमा फैलिएको हुनसक्ने सम्भावना बढी देखिन्छ।

यसै क्रममा हालै ‘फाइभ आइज नेसन्स’ सँग शेयर गरिएको गुप्तचरको सूचनामा कोरोनाभाइरसको महामारी कुनै प्रयोगशालामा दुर्घटना भएर सुरुवात नभएको र सम्भवतः चीनको बजारबाटै सुरुवात भएको उल्लेख गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सेक्रेटरी अफ स्टेट माइक पोप्पेओको दाबी विपरित फाइभ आइज नेसन्सका दुई अधिकारीले गुप्तचरको मूल्यांकन रिपोर्टलाई उद्धृत गर्दै सो कुराको जानकारी दिएका हुन्।

‘हामीलाई लाग्छ यो कुनै दुर्घटना थिएन,’ रिपोर्टबारे जानकार ती कुटनीतिक अधिकारी भन्छन्, ‘यो प्राकृतिक रुपमा विकास भएको र जनवारसँगको सम्पर्कबाट मानिस संक्रमित भएको हुने सम्भवना प्रबल छ।’ दोस्रो अधिकारीले पनि यही कुरामा सहमति जनाए।

फाइभ आइज गठबन्धनमा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन्। यी देशहरुले एक अर्कासँग थुप्रै गुप्तचरको सूचनाहरु शेयर गर्छन्। फाइभ आइज राष्ट्रहरुले यो मूल्यांकन रिपोर्टको अध्ययन गरिरहेका छन्।

यो समूहमा साझा गरिएको रिपोर्टले ट्रम्प र पोम्पेओले केही दिन यता गर्दै आएको दाबीलाई खारेज गरेको छ। दुवैले कोरोनाभाइरस वुहानको बजारमा नभएर कुनै प्रयोगशालामा तयार गरिएको दाबी गरेका थिए। यो गुप्तचर रिपोर्टले ट्रम्प प्रशासनमाथि उनीहरुको दाबीलाई पुष्टि गर्ने प्रमाण प्रस्तुत गर्नुपर्ने दबाब बढेको छ। अमेरिकाले आधिकारिक मूल्यांकन सार्वजनिक गरेको छैन।

फाइभ आइज नेसन्सका तेस्रो स्रोतले गुप्तचरको मूल्यांकन ट्रम्प र पोम्पेओले दाबी गरेभन्दा धेरै टाढा रहेको जानकारी दिए। ती स्रोतले भाइरस प्रयोगशालामा बनेको हुनसक्ने सम्भावना कायम नै रहेको भए पनि यसलाई प्रमाणित गर्ने कुनै पनि प्रमाण नभेटिएको बताए। ‘यो वुहानको बजारबाट फैलिएको स्पष्ट छ तर बजारसम्म कसरी भाइरस आइपुग्यो भन्ने स्पष्ट हुन सकेको छैन।’

उनले अमेरिकाले आफूहरुसँग सबै गुप्तचर रिपोर्ट शेयर नगरेको हुनसक्ने सम्भावना पनि रहेको बताए। फाइभ आइजका सदस्यहरुले गुप्तचरको धेरै सूचना साझा गरे पनि केहीलाई भने लुकाउने गरेका छन्।

सोमबार संक्रामक रोगका विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि आफूलाई भाइरस ल्याबमा बनेको कुरा विश्वास नरहेको बताएका थिए। उनले यो भाइरस प्रकृतिमा नै निर्माण भएको र मानिसमा सरेको हुनसक्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस्