वैज्ञानिकलाई ठूलो सफलता, फेला पारे मानिसको शरीरमा कोरोना फैलिन रोक्ने एन्टिबडी

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : ५३


काठमाडौँ । कोरोना भाइरसविरुद्धको एन्टिबडीको खोजीमा लागेका वैज्ञानिकलाई ठूलो सफलता मिलेको छ। वैज्ञानिकले शरीरमा कोरोना भाइरस फैलिन रोक्ने एन्टिबडी फेला पारेका हुन्। जसले मानिसको शरीरमा कोरोना भाइरस फैलिनबाट रोक्नेछ। 

यो खोजीसँगै वैज्ञानिकहरुले छिटै कोरोनाको उपचारका लागि प्रभावकारी भ्याक्सिन बनाउन सकिने अपेक्षा गरेका छन् । यो एन्टिबडीले कोरोनाभाइरससँग टाँसिएर उसको बाहिरी काँडेदार पत्र तोडेर उसलाई निष्क्रिय गरिदिनेछ। यो एन्टिबडीको नाम ४७डी११ राखिएको छ।

यो एन्टिबडीको खोजीसँगै कोरोना भाइरसको महामारी रोक्न नयाँ आशा जागेको छ। उक्त एन्टिबडीले कोरोनालाई शरीरमै निष्क्रिय पार्न सक्नेछन् ताकि कोरोनाभाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नफैलियोस् । 

डेलीमेलको रिपोर्ट अनुसार मुसामा यो एन्टिबडीको परीक्षण सफल भएको छ। युरोपका वैज्ञानिकहरुले मुसामा पाइने ५१ सेल लाइन्स कोशिकाहरुमा यो एन्टिबडी खोजेका हुन्। त्यसपछि यसलाई मानिसको लायक बनाउनको लागि जेनेटिकली इन्जिनियर गरिएको छ। त्यसपछि उनीहरुले यो एन्टिबडीको परीक्षण २००३ मा फैलिएको सार्स कोरोनाभाइरसमाथि गरे। यो एन्टिबडीले २००३ को सार्स कोरोनाभाइरसलाई निष्क्रिय गरिदियो।

वैज्ञानिकको यो टिमको नेतृत्व युट्रेच युनिभर्सिटीका प्रोफेसर बेरेंड जेन बोशले गरिरहेका छन्। प्रोफेसर बोशका अनुसार यस्तो एन्टिबडीको कारण यदि मानव शरीरमा भाइरस फैलिन रोकिएन भने पनि राम्रो कुरा यो हो कि एन्टिबडीका कारण कोरोनाभाइरसलाई मानव शरीरमा फैलिन निकै धेरै समय लाग्नेछ। अर्थात कोभिड–१९ भाइरस शरीरमै कमजोर हुनेछ।


प्रतिक्रिया दिनुहोस्