नयाँ भर्ना नलिन र अनलाइन कक्षाको नाममा शुल्क नअसुल्न शिक्षा मन्त्रालयको निर्देशन

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ४ : ३६


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख २६ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने निर्णय विद्यार्थी तथा अभिभावकहरुको दवावपछि  फिर्ता लिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड– १९ संक्रमण रोकथामका लागि लकडाउनको अवस्था रहेको र हाल स्थिति समान्य नभएकोले सबै विद्यालयलाई नयाँ भर्ना नलिन निर्देशन दिएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट हालको अवस्थामा कुनै पनि विद्यालयको कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउनु हुनका साथै भर्नाको नाममा कुनै पनि शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्य नगर्न सूचित गरेको छ । यसैगरी कक्षा १०, ११ र १२ को स्थगित परीक्षाको सवालमा हालसम्म मन्त्रालयले कुनै पनि थप नयाँ निर्णय नगरेको विज्ञप्तिमा जनाइएको छ ।

तीन बुँदे निर्णयसहितको विज्ञप्तिमा निजी विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्क आवास बाहेकको सबै शुल्क छुट गर्नुपर्ने निर्देशन पनि दिएको छ । लकडाउनका कारण विद्यालयहरुको पठनपाठन चैत्र ६ गतेदेखि नै बन्द छ । विशेष गरी निजी विद्यालयहरुले नयाँ भर्ना लिनको लागि दबाबा दिँदै आएका छन् । कतिपय विद्यालयहरुले भर्ना समेत लिइरहेका थिए । स्थानीय तहलाई समेत निर्णय कार्यान्वयन गराउन र आवश्यक जानकारी केन्द्रलाई दिन सुचित गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस्