सालीसँग प्रेम गर्नेको यस्तो अपराध, श्रीमतीको हत्यापछि प्रहरीलाई खबर

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : २१


काठमाडौं । सालीसँग प्रेम गर्दै श्रीमतीको हत्या गरेको रहस्य धनुषामा खुलेको छ । सालीसँग मायापिरती बसेपछि मिथिला नगरपालिका– ९ लालभितीका २८ वर्षीय हरि चौहानले २५ वर्षीया श्रीमती बिना चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरी जंगलमा गाडिएको अवस्थामा बिनाको शव प्रहरीले बरामद गरेको छ । यही बैशाख १८ गते बिहीबार साँझ ५ बजेतिर चौहानले श्रीमती बिनालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेको खुलेको छ । त्यसपछि श्रीमती बिनाले लगाएको सलले घाँटी बेरी हत्या गरेको र शवलाई जंगलमै गाडेको अवस्थामा चार दिनपछि आइतबार साँझ प्रहरीले उत्खनन गरी शव बरामद गरेको हो ।

आफ्नी बहिनीसँग प्रेममा रहेको भन्दै मदिरा सेवन गरी घर आउने पतिलाई गुनासो गरेपछि मानसिक यातना दिँदै आएको र पछिल्लोपटक हत्या नै गरिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ । श्रीमती बिनाको हत्या गर्नुअघि चौहानले खाडल खनी तयार पारेको अनुसन्धानबाट खुलेको छ । त्यसपछि बिनालाई जंगलमा लगेर हत्या गरी खाडलमा गाडेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताउनु भयो । 

गाडीचालक पेशामा रहेका चौहानले श्रीमतीको हत्या गरेर घटना लुकाउन बैशाख १९ गते बिहान श्रीमती हराएको भन्दै प्रहरीसमक्ष मौखिक जानकारी गराएका थिए । खोजबिन गर्दै जाँदा उनले आफै श्रीमतीको हत्या गरेको रहस्य खुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । पाँच वर्षअघि चौहानले बिनासँग अन्तर्जातीय विवाह गरेका थिए । अन्तर्जातीय विवाहकै कारण आमाबुबाले घरमा बस्न नदिएपछि उनी ससुरालीको छेउँमै आफ्नो घर बनाएर बस्दै आएका थिए ।

करिब एक वर्षदेखि कान्छी साली गंगा लामासँग एकतर्फी प्रेममा रहेकोले उनले योजना बनाएर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा शंका लागेपछि प्रहरीले चौहानलाई पक्राउ गरी अनुसन्धान थालेपछि आफैँले श्रीमतीको हत्या गरको रहस्य खुलेको हो । मृतक बिनाका ४ वर्षीया छोरी र अढाई वर्षका छोरा छन् ।
 


प्रतिक्रिया दिनुहोस्