क्वारेन्टाइनको नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ३९


क्यारेन्टाइनमा बसेकाहरुलाई नियम कार्यान्वयनका लागि भारतको उडिसा प्रदेशले थप कडाइ गर्न लागेको छ। उडिसाका मुख्यमन्त्री नविन पटनायकले क्यारेन्टाइनमा बसेकाहरूलाई नियम तथा मापदण्डहरुलाई कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको छ। 

उहाँले सोमबार भन्नुभयो, “देशका विभिन्न ठाउँबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको र उनीहरूले क्यारेन्टाइनसम्वन्धी नियमहरू कडासाथ पालना गर्नु पर्नेछ ।” उहाँले क्वारेन्टाइनसम्वन्धी नियमलाई पूर्ण रुपमा पालना नगर्नेहरुलाई सरकारले कडा कारबाही गर्ने चेतावनी पनि दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलावद्ध रूपमा उहाँले लेख्नुभएको छ, “उडिसाका नागरिक विभिन्न राज्यबाट यहाँ आउनु भएको छ, अहिले तपाईंहरू क्वारेन्टानमा बस्नु भएको छ, त्यहाँ बस्दा क्वारेन्टाइनसम्वन्धी नियम कडाईसाथ पालना गर्नुहोला ।”

कोरोनाभाइरसको सङ्क्रमण उडिसामा अहिलेसम्म नियन्त्रित अवस्थामै रहेकाले क्यारेन्टाइनमा बसेकाहरुले राम्रोसँग नियम कार्यान्वयन गरेमा थप फैलिन नपाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । 

मुख्यमन्त्री पटनायकले अगाडि लेख्नुभएको छ, “तपाईहरूले आफ्नो जीवन रक्षा र परिवारका लागि पनि क्वारेन्टाइनसम्वन्धी नियमहरुलाई कडाईका साथ पालना गर्नुपर्दछ । 

क्वारेन्टाइनको नियम पालना नगर्ने वा उल्लङ्घन गर्नेहरुका बारेमा तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउन सार्वजनिक अपिल पनि उहाँले गर्नुभएको छ । 

सरकारको आग्रहलाई वेवास्ता गरी नियम उल्लङ्घन गर्नेलाई सरकारले माफी दिन नसक्ने र कडा कारबाही गर्ने उहाँले चेतावनी दिनुभएको छ ।  

उडिसाको अवस्था अहिलेसम्म नियन्त्रित नै रहेकाले दशौँ लाख मानिसहरुले दिउसो र बेलुका काम गर्न पाएको पनि मुख्यमन्त्री पटनायकले उल्लेख गर्नुभएको छ ।
उहाँले एक जनाले पनि लापर्वाही गर्दा अरु धेरैलाई असर पर्ने तर्फ पनि सवैको ध्यानाकर्षण गराउनुभएको छ ।  

आफ्नो राज्यका नागरिकको जीवन रक्षाका लागि सरकारले यससम्बन्धी सवै नियमलाई कडाइका साथ कार्यान्वयन गराउने अठोट उहाँले व्यक्त गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्