शरीरमा केमिकल स्प्रे गरेर कोरोना मर्दैन, झन् हानिकारक छ- स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ०२


काठमाडौँ । कोरोना भाइरस मार्न मानिसको शरिरमा केमिकल स्प्रे गर्नु हानिकारक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताउनुभयो।

शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश नहुने भन्दै डा. देवकोटाले भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्‍ने बताउनुभयो।

शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा, मुख, नाक आदिमा हानी पुर्‍याउनुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुनसक्छ, प्रवक्ता देवकोटाले भन्नुभयो, यसलाई भुइँ, यातायातका साधन, प्रायः छोइरहने वस्तुहरुमा स्प्रे गर्न सकिन्छ र त्यसले सतह मात्रै निः संक्रमण हुन्छ।

भाइरसबाट बच्‍न सबैभन्दा सरल र महत्वपूर्ण उपाय भनेको २० सेकेन्ड मिचिमिची हात धुने, सामाजिक दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो।

नेपालमा सोमबारसम्म कोरोना संक्रमितको संख्या ७५ रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो। त्यसमध्ये रुपन्देहीमा १ जना, नेपालगञ्जमा १६ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगञ्जमा ९ जना तथा विराटनगरमा ३१ जना गरी ५९ जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले बताउनुभयो। १६ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ५० हजार ८ सय ८५ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ६ सय ४० परीक्षण भएको छ।

त्यस्तै, आइसोलेसनमा देशभरि १ सय ६ जना रहेका छन्। काठमाडौँमा १ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १ सय ५ जना रहेका छन्। क्वारेन्टाइनमा २१ हजार ५ सय २३ जना रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्