कोरोना संक्रमित शून्यमा रहेको कर्णाली प्रदेश सात दिनसम्म सिल

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ३२


काठमाडौं । अहिलेसम्म कोरोना संmक्रमित शून्यमा रहेको कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी सात दिनका लागि प्रदेशलाई सिल गर्ने निर्णय गरेको छ । छिमेकी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि पैदल हिडेर कर्णाली प्रवेशमा समेत रोक लगाइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश ५ र सुदूरपश्चिम प्रदेशसँग जोडिएका सीमा नाका सिल गर्ने र २७ स्थानमा मेडिकल मार्च अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्री दल रावलले अत्यावश्यक (एम्बुलेन्स र रेफर गर्नुपर्ने विरामीले प्रयोग गरेका सवारी–साधन)बाहेकका कुनै सवारी साधनहरु कर्णालीमा प्रवेश नदिइने बताउनु भयो । 

‘छिमेकी प्रदेशहरुमा कोरोना संक्रमणका विरामीहरु बढेकाले कर्णालीलाई सुरक्षित राख्न सात दिनका लागि दक्षिणका सबै सीमा नाका सिल गर्ने निर्णय भएको हो’ मन्त्री रावलले भन्नुभयो, ‘सीमासम्म आइपुगेका कर्णालीका नागरिकहरुलाई पनि सोही ठाउँमै क्वारेन्टाइन निर्माण गरेर राख्छौं ।’ प्रदेश सरकारले कर्णाली प्रवेश गर्ने मुख्य नाका बबईमा १ सय बेडको क्वारेन्टाइन निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

प्रदेश सरकारले दक्षिणबाट हिँडेर आउनेहरुलाई पनि प्रदेशमा भित्रिन नदिनका लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ । बर्दियासँग सीमा जोडिएको बबई, दाङसँग सीमा जोडिएको सल्यानको कपुरकोट, सुदूरपश्चिमसँग सीमा जोडिएको कैलालीको कुइने नाकाहरुमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि विपद् व्यवस्थापन परिषद्ले गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस्