संघीय संसदको महासचिवमा गौतमको नाम सिफारिस

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ५३


काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतमको नाम सिफारिस गरिएको छ।

संघीय संसद सचिवालयमा सचिवको जिम्मेवारीमा रहँदै आउनुभएका गौतमलाई महासचिवको नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको हो।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सोमबार संयुक्त रुपमा महासचिवका लागि गौतमको नाम सिफारिस गर्नुभएको छ।

राष्ट्रपतिलाई लेखिएको पत्रमा भनिएको छ, 'संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन २०७५ को दफा ३ बमोजिम योग्यता पुगेका साविक लामाचौर ५ कास्की निवासी (हाल संघीय संसद सचिवालयमा सचिव पदमा कार्यरत) डा. भरतराज गौतमलाई नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैले संयुक्त रुपमा मिति २०७६ चैत ३ गतेदेखि रिक्त रहेको संघीय संसदको महासचिव पदमा सिफारिस गर्दछौं।'

कास्की लामाचौर घर भएका गौतम साढे दुई दशकदेखि संसद सेवामा प्रवेश गर्नुभएको थियो भने विगत ३ वर्षदेखि संघीय संसद सचिवालयको सचिवमा कार्यरत हुनुहुन्थ्यो। 

पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईको पदावधि सकिएपछि गत चैत ३ गतेदेखि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हानुभएको थियो।


प्रतिक्रिया दिनुहोस्