नेपालगञ्जः लक्षण देखिएन्, तर पनि कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ३ : ०८


नेपालगञ्जमा आज थप छ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यहाँस्थित भेरी अस्पतालको आरटीपिसिआर यन्त्रमा परीक्षणको क्रममा साँझ थप ६ जनामा कोरोना पोजेटिभ फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो।

यसअघि आज नै अपराह्न ९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । भेरीको कोरोना प्रयोगशालामा निरन्तर परीक्षण भइरहेको छ। शनिबार सङ्कलित ९० र आज सङ्कलित चार गरी ९४ स्वाबको परीक्षण भइरहेको श्रेष्ठले बताउनुभयो। ‘अहिलेसम्म कति परीक्षण भयो भन्ने ठ्याक्कै यकिन भएन, अहिलेसम्म थप ६ जनामा पोजेटिभ भेटिएको छ’, उहाँले भन्नुभयो,‘ निरन्तर परीक्षण भइरहेको छ, मन्त्रालयले पुष्टि गर्दै जाने छ। ’
 
उहाँका अनुसार अहिले भेटिएका नयाँ सङ्क्रमित पनि नेपालगञ्ज–८ स्थित जोल्हनपूर्वा आसपासकै भएको अनुमान छ । यससँगै नेपालगञ्जमा एकै दिन कोरोना पोजेटिभको सङ्ख्या १५ पुगेको छ । यसअघि एक जनामा सङ्क्रमण पुष्टि भएको थियो।

संसर्गबाट कोरोना सङ्क्रमण
 नेपालगञ्जमा आज फेला परेका नयाँ कोरोना सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सङ्क्रमित भएको पाइएको छ । नयाँ सङ्क्रमित सबै पहिलो पटक सङ्क्रमण देखिएका नेपालगञ्ज–८ डिएसपी रोडका ६० वर्षीयको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो।
 
पहिलो सङ्क्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउनेक्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । फेला परेका सङ्क्रमित सातदेखि ५८ वर्ष उमेरका छन् । उनीहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिए पनि कोरोना सङ्क्रमण भएको थियो ।
 
फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो सङ्क्रमितको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएकामा ३० को नमूना परीक्षण गर्दा १५  जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई उपचारका लागि खजुरास्थित आइसोलेशन अस्पतालमा पठाइएको छ । नब्बेमध्ये अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने बताइएको छ ।
 
कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बताउनुभयो । उहाँले कोरोना भाइरस जोसुकैमा पनि सङ्क्रमण हुने भएकाले घरबाट बाहिर निस्कन नहुनेमा जोड दिनुभयो ।
 
नेपालगञ्जस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरुको  स्वाब परीक्षणका क्रममा पहिलो पटक नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना सङ्क्रमण फेला परेको थियो ।


प्रतिक्रिया दिनुहोस्