क्वारेन्टाइनबाट भागेका धर्मगुरु मौजिनलाई पछ्याउँदा भेटियो नेपालगञ्जमा कोरोनाको लहरो

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : ५५


काठमाडौँ नेपालमा आज (आइतबार) एकै दिन १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएका मध्ये नेपालगन्जका १५ जना र पर्साको वीरगन्जका एक जना रहेका छन्।

नेपालगञ्जमा कोरोना पुष्टि भएका १५ जना तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्ति हुन्। 

कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका व्यक्तिको कोरोना परीक्षण गर्दा १५ जनाको रिर्पोट पोजेटिभ देखिएको हो। 

गत साता पहिलोपटक नेपालगञ्जमा भेटिएका कोरोना संक्रमित मस्जिदका गुरुबाट नै अरुलाई संक्रमण फैलिएको पुष्टि भएको छ। 

नेपालगन्ज-८ स्थित जोलाहनपुरवास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पठाउने व्यक्ति)मा संक्रमण पुष्टि भएपछि टोल नै सिल गरेर परीक्षण शुरु गरिएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार ती पुरुषको सम्पर्कमा आएका नेपालगन्जका ९० जनाको स्वाब परिक्षण गर्न पठाएकोमा अहिलेसम्म ६० जनाको रिपोर्ट आएको छ। जसमध्ये १५ जनाको रिर्पोट पोजिटिभ देखिएको छ भने ४५ जनाको रिर्पोट नेगेटिभ देखिएको छ। अन्य ३० जनाको रिपोर्ट आउन बाँकी रहेका कारण संक्रमितको संख्या बढ्न सक्ने आँकलन गरिएको छ।

शुरुमा कोरोना पोजेटिभ रिपोर्ट देखिएका ६० वर्षीय मस्जिदका गुरुलाई भने खजुरास्थित आइसोलेसन अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। आज थप संक्रमण देखिएकाहरुलाई पनि अस्पताल ल्याउन लागिएको बताइएको छ।

क्याम्पसको क्वारेन्टाइनबाट हुलमुलसहित निस्केका थिए पहिलो संक्रमित
एक महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनबाट जबर्जस्त हुलमुलसहित निस्किएका व्यक्तिहरुसँगै ती व्यक्ति पनि निस्किएका थिए।

भारतस्थित आफन्त भेटेर आएका ती मस्जिदका गुरुलाई एक महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनमा राखेको बेला झण्डै ६ सय जति हुलमुलका साथ जबर्जस्त निस्किएर घर गएका थिए। सोही हुलमुल निस्किएको मौकामा उनी पनि निस्किएर घर गएका थिए।

कोरोना संक्रमित उनकै परिवारका सदस्य हुन् वा टोलका बासिन्दा हुन् भन्ने खुलिसकेको छैन। आइसोलेसन अस्पताल खजुराका प्रमुख डा प्रकाश थापाले पोजेटिभ भेटिएका १५ जनाको पहिचान गरी आइसोलेसन अस्पताल लैजाने तयारी भैरहेको जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्