लकडाउनका बीच भारतमा रेल चल्ने

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : ५४


नयाँदिल्ली । भारतीय रेलसेवाले लकडाउनका बेला पनि चल्नेगरी “श्रमिक विशेष रेलसेवा” संचालनमा ल्याउन विशेष निर्देशिका जारी गरेको छ।
 
विशेष गरेर कामदारहरु आवतजावत गर्न पाउने र उनीहरुलाई सम्बन्धित ठाउँमा पुर्याउने उद्देश्यले श्रमिक विशेष रेलसेवा शुरु गर्न लागिएको हो। 

यो विशेष रेलसेवाबाट कामदार, तिर्थयात्री, पर्यटक, विद्यार्थी र अन्यत्र जान नपाएर अलपत्र परेकाहरुलाई सेवा दिइने भएको छ।

प्रदेश सरकारको प्रशासनको सिफारिसका आधारमा प्रदेशस्तरका रेलसेवा मात्रै सञ्चालन हुने अधिकारीहरुले जनाएका छन्। तर उनीहरुका लागि निर्देशिका भने केन्द्रीय सरकारले नै जारी गरेको छ।

केन्द्रीय रेल मन्त्रालयले केही सर्त र मापदण्डहरु समेत उल्लेख गरेर निर्देशिका जारी गरेको समाचारमा जनाइएको छ।

हरेक यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, बढीमा १२ घण्टाको मात्रै यात्रा गर्न पाइने, एक छाक खाना रेलसेवाले नै उपलब्ध गराउने निर्देशिकामा उल्लेख गरिएको छ।

त्यसैगरी हरेक यात्रुलाई प्रदेश सरकारले नै जिम्मा लिनु पर्ने, प्रदेशले नै उनीहरुलाई आवश्यकता र अवस्था अनुसार स्वास्थ्य परीक्षण गर्नु पर्ने, क्वारेन्टाइन र बाँकी यात्राको व्यवस्था गर्नु पर्नेछ।

रेल तथा रेल स्टेशनहरुमा सामाजिक दुरीलगायतका स्वास्थ्य सतर्कता पूर्ण रुपमा अपनाउनु पर्ने शर्त पनि राखिएको छ।  

भारतमा सरकारले मे ३ अर्थात आइतबारदेखि सकिन लागेको लकडाउनको अवधि फेरि लम्ब्याएर यही मे १७ सम्म पुर्याएको छ।

अहिले मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरिएको हो। भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न भन्दै लकडाउन घोषणा गर्ने ठूला देशहरुमध्ये भारत अग्रस्थानमा पर्दछ।

भारतमा घोषणा गरिएको लकडाउनलाई सबैभन्दा ठूलो र सबैभन्दा लामो अवधिको लकडाउन भनिएको छ।


प्रतिक्रिया दिनुहोस्