अझै केही हप्ता माैसममा सुधार नहुने

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : २८


काठमाण्डौ । पछिल्लो केही दिनयता नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाइएको छ ।

प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभएकाे छ । अहिलेकाे यो अवस्थालाई हेर्दा मौसममा सुधार आउन अझै दुई साता लाग्ने उहाँकाे भनाइ छ ।

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित वर्षा हुने गर्दछ । अहिले प्रिमनसुनको साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो । उहाँका अनुसार दिनहुँ वर्षा भइरहेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको हो ।

आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । गएको वर्ष आजकै दिन उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो । अहिले देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातको समयमा देशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । सोमबार देशको पूर्वी तथा मध्य भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्