नेपालमा एकै दिन थपिए १० जना कोरोना संक्रमित [हेर्नुस भिडियो]

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ४३


काठमाडौं । आइतबार कोरोना संक्रमित १० जना फेला परेका छन्। यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ६९ पुगेको छ।

आइतबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यस्तो जानकारी दिनुभएको हो।

नेपालगञ्जमा ९ जना र पर्सामा १ जना व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको डा. देवकोटाले जानकारी गराउनुभयो।

पर्साका ३६ वर्षीय पुरुषमा र नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमित देखिएको देवकोटाले बताउनुभयो। नेपालगञ्जमा संक्रमित व्यक्तिहरु ७ देखि ५८ वर्ष उमेर समूहका रहनुभएको पनि उहाँले बताउनुभयो।

नेपालगञ्जका ९ जना संक्रमित व्यक्तिहरुलाई अस्पतालमा ल्याउँदै गरेको देवकोटाले बताउनुभयो। संक्रमितहरुको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो।

आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ। त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ७८ जना रहेका छन् ।

काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ७३ जना रहेका छन् । क्‍वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् ।

हेर्नुस भिडियो-


प्रतिक्रिया दिनुहोस्