मर्सिडिज कारसँगै गाडियो नेताको लास

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ४१


विभिन्न धर्म संस्कार, देश, समुदाय र जाति अनुसार मृत्यु संस्कार तथा मृत शरीरको व्यवस्थापन गर्ने विधि फरक फरक रहेको पाइन्छ। तर यहाँ कतिपय मान्छेहरु जीवित छँदै आफ्नो अन्तिम संस्कार कसरी गर्ने पहिले नै भनिसकेका हुन्छन् र उनीहरुलाई परम्परागत संस्कारभन्दा फरक तरिकाले अन्तिम संस्कार गरिएको पाइन्छ। 

यस्तै एक घटना अफ्रिकामा भएको छ। दक्षिण अफ्रिकाका एकजना नेताको लासलाई महंगो मर्सिडिज कारभित्र राखेर कारसँगै गाडिएको छ।

हालै निधन भएका दक्षिण अफ्रिकी नेता ७२ वर्षीय शेकेदे बुफोन पित्सोलाई उनको आफ्नै मर्सिडिज कारभित्र राखेर अन्त्येष्टि गरिएको हो।

जीवित छँदा चढ्ने गरेको उक्त मर्सिडिज कार उनको लागि निकै प्यारो कार थियो। आफू मरेपछि सो कारलाई आफुसँगै अन्त्येष्टि गरियोस् भन्ने उनको चाहना थियो। सोही चाहना बमोजिम स्वर्गीय पित्सोका परिवारजनले उनको शवलाई कफिनमा राख्नुको साटो सोही कारमा राखेर सँगै अन्त्येष्टि गरिदिएका हुन्।

सोसल डेमोक्रेटिक पार्टीका नेता रहेका पित्सो कुनै समय निकै धनाढ्य व्यवसायीसमेत थिए। उनले विगतमा धेरै मर्सिडिज बेन्ज कार किनेका थिए। तर पछि आर्थिक संकट परेसँगै उनले सबै कार बेचे र सन् १९९० को दशकमा एउटा नयाँ मर्सिडिज कार किने।

त्यो कार हाल खासै चालू अवस्थामा थिएन। तर पनि उनी दिनमा प्रायः सोही कारको सिटमा बस्दथे र गीत सुन्दथे। उनले उक्त कारलाई निकै माया गर्दथे। त्यसैले आफूसँगै कारको पनि अन्त्येष्टि होस् भन्ने चाहना उनको थियो।

सोही बमोजिम अन्त्येष्टि स्थलमा एउटा कार अटाउने चिहान खनियो। उनको शवलाई कारको ड्राइभिङ सिटमा राखेर डोरीले बाँधियो। उनको हातलाई स्टेरिङ समाएजस्तो गरी बाँधियो।

कारसहित उनको अन्त्येष्टि गरेको हेर्नका लागि धेरैजना मानिसहरु त्यहाँ उपस्थित भएका थिए। कोरोना भाइरस महामारीको लकडाउनको प्रतिबन्धका बीच अन्तयेष्टि स्थलमा उल्लेख्य मानिसहरु सहभागी भएका थिए। 


प्रतिक्रिया दिनुहोस्