सचिवालय बैठकको निर्णय कसैको हार र जित होइन् : शंकर पोखरेल

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ०८


काठमाडौं । सत्तारुढ दल नेकपाका नेता तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा सचिवालयको बैठकमा निर्णय  कसैकौ हार र जितका रुपमा बुझ्न नहुने  बताएका छन्।

शनिवार बसेको नेकपा सचिवालय बैठकले उत्कर्षमा पुगेको विवाद अन्त्य गरेको र प्रधानमन्त्रीले अब राजीनामा दिनुनपर्ने चर्चा हुन थालेको छ।

उक्त बैठकबारे टिप्पणी भइरहँदा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आपसी समझदारी भएको तथा वरिष्ट नेता माधव नेपाल अझै असन्तुष्ट रहेको जनाइएको छ।

नेता पोखरेलले फेसबुक स्टाटसमा लेखेका छन्,'हिजोको सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन, यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत हो। सबैलाई बधाई। यात्रा जारी छ।'

नेकपाको हिजोको सचिवालयले बैठकले सदस्यहरुको माग अनुसार स्थायी समिति तय गरेको हो। वैशाख २५ गते बिहान ११ बजेका लागि स्थायी समिति बोलाइएको छ।

सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आत्मालोचना गरेका थिए। बैठकपछि नेताहरुले अब पार्टी र सरकार विधिवत् रुपमा चल्ने बताउँछन्।


प्रतिक्रिया दिनुहोस्