मन्त्रिपरिषद् बैठक जारी, लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : ५४


काठमाडौं। सरकारले कोरोना रोकथामका लागि जारी भएको लकडाउन खुकुलो पार्नेबारे छलफल गर्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा लकडाउनका सम्बन्धमा भावि रणनीति कस्तो बनाउँने भन्नेबारे छलफल भइरहेको छ।

आजको मन्त्रिपरिषद् बैठकमा संसद अधिवेशन बोलाउनेबारे पनि छलफल हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार पार्टी सचिवालय बैठकमा संसद् अधिवेशन बोलाउन लागेको जानकारी गराएका थिए।

१५ जेठमा आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ।

सरकारले पछिल्लो समय वैशाख २५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ। सामाजिक दुरी कायम राख्दै लकडाउन खुकुलो पारिनुपर्ने आवाज उठ्दै गएको छ।

लकडाउनको मारमा मजदुरवर्ग परेका छन्। राज्यले हालसम्म उचित राहतको व्यवस्था गर्न सकेको छैन।

आजको क्याबिनेट बैठकमा हवाइ उडान र सीमा नाका बन्द राखेर मुलुकभित्र खुकुलो बनाउने तयारी भइरहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्