किम सार्वजनिक रूपमा पुनः देखिएपछि ट्रम्प ‘खुशी’

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : ११


काठमाडाैं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अन पुनः सार्वजनिक रूपमा उपस्थित भएकोमा र स्वस्थ देखिएकोमा आफूलाई "खुशी" लागेको बताएका छन्।

एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा किम उपस्थित भएको विवरण सार्वजनिक भएपछि ट्रम्पले ट्वीटमार्फत् खुशी व्यक्त गरेका हुन्। उनले भनेका छन्, "उनी फेरि फर्किएकोमा र स्वस्थ देखिएकोमा म खुशी छु।"

करिब तीन हप्तायता पहिलो पटक शुक्रवार किम सार्वजनिक रूपमा देखिएको विवरण सार्वजनिक भएको थियो।

सम्बन्ध
एप्रिल १२ तारिखमा सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता नेता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए। उत्तर कोरियाली नेताको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी र हल्लाबीच सोमवार ट्रम्पले किमको अवस्थाबारे आफूलाई "राम्रो ज्ञान भएको" उल्लेख गरे पनि "त्यसबारे कुरा गर्न नसक्ने" भने।

उनले भने, "म उनको राम्रो होस् भन्ने कामना गर्छु।" ट्रम्प र किमले पछिल्ला वर्षहरूमा एउटा फरक खालको सम्बन्ध बनाएका छन्। सन् २०१८ यता दुई नेताले तीन पटक भेटवार्ता गरेका छन् र व्यक्तिगत पत्रहरू आदानप्रदान गरेका छन् जसलाई ट्रम्पले "उत्कृष्ट" भन्ने गरेका छन्।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले मल उद्योगबाहिर किमले रिबन काट्दै गरेका तस्वीरहरू सार्वजनिक गरेको थियो।


करिब तीन हप्तायता पहिलो पटक शुक्रवार किम सार्वजनिक रूपमा देखिएको विवरण सार्वजनिक भएको थियो 
केसीएनएका अनुसार कार्यक्रममा किम सहभागी हुँदा उनीसँग बहिनी किम यो-जङसहित थुप्रै उत्तर कोरियाली वरिष्ठ अधिकारीहरू उपस्थित थिए। "मुलुकलाई सम्पन्नता दिलाउने दिशामा सर्वोच्च नेताले गरिरहेको नेतृत्वका लागि भन्दै कार्यक्रममा सहभागी मानिसहरू खुशीले रुन थाले," केसीएनएले भनेको थियो।

किमले उद्योगको उत्पादन प्रणालीसँग आफू सन्तुष्ट भएको बताए र देशको रासायनिक उद्योग तथा खाद्यान्न उत्पादनमा पुर्‍याएको योगदानका लागि कम्पनीको उनले प्रशंसा पनि गरेको केसीएनएले उल्लेख गरेको थियो।

स्वास्थ्यबारे अड्कलबाजी किन?
आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल-सङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किम जङ-अनको स्वास्थ्य अवस्थाबारे अड्कलबाजी शुरू भयो। उत्तर कोरियाली पात्रोमा किम इल-सङको जन्मजयन्ती समारोह सबैभन्दा ठूला कार्यक्रममध्ये एक हो।

र, किम जङ-अन प्रायः उक्त दिन आफ्ना हजुरबुवाको चिहानस्थल पुग्ने गर्छन्। उत्तर कोरियाली भगौडाहरूद्वारा सञ्चालित एउटा वेबसाइटको समाचारमा किम बिरामी भएकोबारे दाबीहरू गरिएका थिए।


आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल-सङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किम जङ-अनको स्वास्थ्य अवस्थाबारे अड्कलबाजी शुरू भयो
एउटा अज्ञात स्रोतले गत अगस्ट महिनायता मुटुसम्बन्धी समस्याबाट गुज्रिरहेको तर माउन्ट बेक्डुको पटकपटक भ्रमण गरेपछि अवस्था बिग्रिएको भनेर द डेली एनकेलाई बताएको थियो। त्यसपछि एउटै स्रोतको भनाइमा आधारित समाचारमा टेकेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि खबर बनाए।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जारी हल्लालाई एप्रिल २९ तारिखमा बल पुर्‍याए जब उनले अमेरिकाका अधिकारीहरूले किमलाई पछिल्लो समय "नदेखेको" बताए। यद्यपि दक्षिण कोरियाली सरकारद्वारा जारी एउटा वक्तव्य र चिनियाँ गुप्तचर स्रोतहरूले समाचार संस्था रोयटर्ससँग त्यसको खण्डन गरेका थिए।

के किम पहिला पनि ओझेल भएका थिए?
सन् २०१४ को सेप्टेम्बर महिनामा एउटा साङ्गीतिक कार्यक्रममा देखिएपछि उनी ४० दिनसम्म कतै देखिएनन्। अक्टोबर महिनाको मध्यतिर उनी लठ्ठीसहित पुनः देखिए। सरकारी सञ्चारमाध्यमले उनी कहाँ थिए भन्नेबारे कहिल्यै केही बताएनन्।
-बीबीसी


प्रतिक्रिया दिनुहोस्