काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उन झण्डै २० दिनपछि सार्वजनिक कार्यक्रममा प्रस्तुत भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हर्षित बनेका छन्।
उत्तर कोरियाली राष्ट्रिय मिडियाले जारी गरेको सुचोन फोस्फटिक फर्टिलाइजर फ्याक्ट्रीमा रिबन काटेको किमको तस्विर ट्रम्पले रिट्वीट गर्दै ट्रम्पले लेखेका छन्, ‘उनी फर्किएकोमा र स्वस्थ रहेकोमा हर्षित छु ।’
I, for one, am glad to see he is back, and well! https://t.co/mIWVeRMnOJ
— Donald J. Trump (@realDonaldTrump) May 2, 2020
तीन हप्तासम्म सार्वजनिक कार्यक्रममा नदेखिएपछि किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अनुमानहरु गरिएका थिए। तर झण्डै २० दिनपछि उनले रिबन काटिरहेका तस्वीर सार्वजनिक भएपछि उनी स्वस्थ रहेको पुष्टि भएको हो। विभिन्न तहका गुप्तचरको सूचनाबाट उत्तर कोरियाले जारी गरेको तस्विर वैध भएको पाइएको स्रोतलाई उदृत गर्दै सीएनएनले जनाएको छ।
उता, दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकार मुन चुङले किम वोनसान क्षेत्रमा अप्रिल १३ देखि बसिरहेको जानकारी दिएका छन्।
गत अप्रिल १५ मा आफ्नो हजुरबुबाको जन्मजयन्तीमा आयोजित कार्यक्रममा अनुपस्थित भएपछि किमको स्वास्थ्य अवस्थाबारे प्रश्न उठेको थियो।
केसीएनए समाचार एजेन्सीको रिपोर्टको अनुसार किम जोङ उनले मे १ मा मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरे। सरकारी मिडियाका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे। केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग थिए ।