प्रधानमन्त्री ओलीमाथिको खतरा अझै टरेन, नेकपाले बोलायो स्थायी कमिटी बैठक

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : ०२


काठमाडौं। सत्तारुढदल नेकपामा अध्यादेशपछि चुलिएको विवाद  केही दिनका लागि शिथिल भएको छ।

तर, उक्त विवादको अन्तिम छिनोफानो अब पार्टी स्थायी समिति बैठकले गर्ने भएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'आत्मआलोचना' गर्नुभएको छ।

यो सँगै सचिवालय बैठकबाट प्रधानमन्त्रीमाथि राजीनामा दिन परेको दबाब केही पर धकेलिएको छ। र अब पछिल्ला विवादबारे ४५ सदस्यीय रहेको नेकपा स्थायी समिति बैठकमा गम्भीर छलफल हुने भएको छ।

उक्त बैठकलेनै सत्ता सञ्चालन र पार्टीबारे महत्वपूर्ण निर्णय गर्न सक्छ। नेकपाका असन्तुष्ट पक्षले यसअघिनै पार्टी स्थायी समिति बैठक बोलाउन पटक पटक माग गर्दै आएका थिए।

बैठक बोलाउँने विपक्षमा रहेका भनिएका प्रधानमन्त्री ओली अन्ततः बोलाउन सहमत भएका हुन।

सचिवालय बैठकबाट नेता बामदेवको व्यवस्थापन र 'आत्मआलोचना' गरेर प्रधानमन्त्रीले सम्भावित घटनाक्रमबारे आँकलन गरेर स्थिती आफ्नो नियन्त्रणमा लिने प्रयास गरेको जस्तो देखिन्छ। तर, स्थायी समिति बैठकको निर्णय नै अन्तिम बन्ने देखिन्छ।

वरिष्ट नेता माधव कुमार नेपालले सचिवालय बैठकमा तेस्रो अध्यक्ष बन्न गरेको ओलीको प्रस्ताव अस्वीकार गरेपछि उक्त समुहका नेता अब स्थायी समितिमा कसरी प्रस्तत हुन्छन् हेर्न बाँकी छ।

सचिवालय बैठकको निर्णयमा अर्का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'पनि असन्तुष्ट रहेको सहजै बुझ्न सकिन्छ।

शनिवारको सचिवालय बैठकले यही वैशाख २५ गते बिहीबार बिहान ११ः०० बजे पार्टी स्थायी कमिटीको बैठक गर्ने निर्णय गरेको छ। 

यस्तै सचिवालय बैठकले बुधबार अपराह्न ३ः०० बजे केन्द्रीय सचिवालयको बैठक गर्ने निर्णय गरेको छ।

स्थायी कमिटीको बैठकको तयारीका निम्ति उक्त बैठक हुनेछ। आजैको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको थियो।

प्रवक्ता श्रेष्ठका अनुसार नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताका पक्षमा समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय बैठकले गरेको छ।

बैठकमा पार्टी र सरकारबाट भएका कमीकमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसहित अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले आत्मालोचना गर्नुभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसैअनुरुप निर्देशनसमेत दिएको बताउनुभयो। 

बैठकमा प्रधानमन्त्री ओलीले चाँडै नै संसद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमलाई अघि बढाइने बताउनुभयो। 


प्रतिक्रिया दिनुहोस्