प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले गरे आत्मालोचना

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ४२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आत्मालोचित भएका छन् । पार्टीको सचिवालय बैठकमा अध्यक्षद्वयले आत्मालोचना गर्नुभएको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रमा जेजति कमिकमजोरी भएका छन्, त्यसका लागि प्रधानमन्त्री ओलीले आत्मालोचना गर्नुभएको छ ।’ उहाँले अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले पनि आत्मालोचित हुँदै पार्टी एकताको मर्म र भावनाअनुरुप अगाडि बढ्ने संकल्प गर्नुभएको जानकारी दिनुभयो ।

‘पार्टी एकताका लागि दृढ बन्ने संकल्प गरिएको छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘पार्टीलाई फुटउन्मुख गराउने कुनै क्रियाकलाप नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशित गरिएको छ ।’ प्रवक्ता श्रेष्ठले विधि र पद्धतिअनुसार पार्टीको नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र समाजवादउन्मुख कार्यदिशामा अगाडि बढ्ने निर्णय गरिएको पनि बताउनुभयो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले छिटै सदन बोलाउने तयारी भइरहेको पार्टीलाई जानकारी गराउनुभएको र सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटमा पनि पार्टीले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले स्थायी कमिटीको बैठक बैशाख २५ गते डाकिएको र त्यसको तयारीस्वरुप सचिवालय बैठक बैशाख २४ गते ३ बजे राखिएको जानकारी पनि दिनुभयो । 

बैठकले कोरोना भाइरसविरुद्ध अझ बढी एकतावद्ध भएर लाग्न सबै दल, नागरिक समाज र पार्टीपंक्तिलाई आव्हान पनि गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस्