नेकपा नेताहरुलाई अहंकार र घमण्डले फुट्ने छूट छैन

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  २ : ०२


नेपालको राजनीतिमा सिद्धान्तको पथ छोडेर गरिने अहंकार, सत्ता स्वार्थ र लघुताभास कति ठूलो रोग हो भन्ने कुरा दिनको घामझैं छर्लङ्ग भैसकेको छ। जब नेतृत्वले जनमतलाई आफ्नो मात्र पेवा ठान्छ, फरक मतलाई किनारा लगाउँछ र कर्णप्रिय स्तुतिलाई मात्र श्रवण गर्न थाल्छ, त्यसले विभाजनलाई प्रश्रय दिन्छ। पार्टीहरुको दुर्गति त्यहीँबाट शुरु हुन्छ।

२०४८ को संसदमा भएको काँग्रेस झण्डै दुई तिहाई नजिक थियो। संसद विघठन गरि मध्यावधिमा गएर जनमत गुमायो र नेकपा (एमाले) संसदको ठूलो दल बन्न पुग्यो। ०५१ को मध्यावधिबाट ठूलो दल भएको एमाले विभाजनपछि खुम्चिनु पर्यो। 

परिवर्तनको राप र तापसँगै ०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै दुई तिहाई मत प्राप्त नेकपा (माओवादी) टुट फुट र विभाजनपछि ०७० को दोश्रो संविधानसभाको निर्वाचनमा तेश्रो दलमा चित बुझाउनु पर्यो।

इतिहासमा भएका टुटफुट र विभाजनको नकारात्मक शिक्षासहित मुलुकको राजनीतिक स्थायित्व र समृद्धिको संकल्पलाई जनताले अनुमोदन गरेपछि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदको दुई तिहाई जनमतका साथ उपस्थित छ। तर जनताले मतपत्रमा विश्वास दान गरेका हातका औंलाको मसी सुक्न नपाउँदै सरकारको लोकप्रियतामा प्रश्न उठेका छन् र पार्टीमा विधि र पद्धतिले प्राण खोज्नुपर्ने भएको छ। लोकतान्त्रिक भनिएका पार्टीमा जन्मिने अहंकार र हीनताले सधैं फुटको बीउ रोपिने गरेको विगत स्मरण गर्ने ठाउँमा हामी पुगेका छौं।

फूट जनताले मन पराउँदैनन् भन्दै नेतृत्वले स्वच्छाचारिता प्रदर्शन गर्ने, अहंकार प्रदर्शन गर्ने र निरंकुशताको अभ्यास गर्न थालियो भने यसले हामीलाई ठिक बाटोमा लिन सक्दैन। यो त इतिहासमा टुटफूट र विभाजनको नकारात्मक शिक्षा हो।

अझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त गौरवशाली इतिहास बोकेका दुई भिन्न आन्दोलनका धाराबाट आएका, देश र जनताको मर्मबोध गर्न सक्ने नेता कार्यकर्ताको विशाल जत्थाबन्दी भएको एकीकृत शक्ति हो। जिम्मेवार नेता कार्यकर्ता नेकपाका पुँजी हुन्। नेकपालाई जनताको अभिमत एकता, स्थायित्व र समृद्ध भविष्यका लागि हो। त्यो जनमत नेकपाको सामुहिक संकल्पमा व्यक्त भएको छ। नेताहरुको भाषामा भन्दा जेटका दुई पाइलटको सामुहिक विश्वासमा प्रकट भएको छ। यो वास्तविकतालाई विषयान्तर गरि अमुक नेताको मुख हेरेर आएको जनमत भनी पिसाबको न्यानोमा रमाउन थाल्ने हो भने यसको परिणाम अप्रिय नै हुन्छ।

डार्विनले भनेका छन्, जो विद्यमान परिस्थितिसँग संघर्ष गर्न सक्छ, ऊ अगाडि आउँछ, जो कमजोर हुन्छ, विलुप्त भएर जान्छ। यदि नेकपा र यसको नेतृत्वको सरकार राष्ट्रिय आकांक्षा र जनहित विपरित गतिविधिमा सामेल भयो भने जनताका लागि नयाँ विकल्प छान्ने अधिकार हमेशा रहन्छ, भलै त्यसले आफ्नो प्राकृतिक कोर्स लिन समय लागोस्।

फेरि पनि नेकपाका नेताहरुका अगाडि राजनीतिक लयमा फर्किने, पार्टी र सरकारका कामको मुर्त कार्यविभाजन गरि पार्टीको संस्थागत निर्णय अनुसार सरकार संचालन गर्ने, सरकारलाई भ्रष्टाचार, अनियमिता र स्वेच्छाचारिताबाट बचाउने, कामको आधारमा राम्रो गर्नेलाई पुरस्कृत र गल्ती गर्नेहरुलाई दण्डित गर्ने, पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने र गलत कार्यशैली सुधार गर्ने, गल्ती र कमजोरीको जिम्मा लिने, आत्मआलोचना र सुधार गर्ने, नेता कार्यकर्ताको न्यायिक कार्यविभाजन गर्ने, आग्रहपूर्ण व्यवहार र गुट स्वार्थबाट माथि उठेर पार्टीलाई रुपान्तरण सहितको नयाँ आधारमा एकताबद्ध गर्ने हो भने एकता अझ नयाँ उचाईमा समुन्नत हुन सक्छ। नेकपाका सामू अहिले यसको विकल्प छैन। समयमै चेतना भया।


प्रतिक्रिया दिनुहोस्