लकडाउनमा निःशुल्क भोजनको व्यवस्था

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : ४७


काठमाडौं । कोभिड –१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिका वडा नं–१३ सोल्टीमोडका केही समाजसेवीले निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।  

दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई स्पार्क हेल्थ होम हस्पिटल परिसरमा आजदेखि  लकडाउनको बाँकी अवधिभर खानाको व्यवस्था गरिएको छ । समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रुपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले उक्त भोजनको प्रबन्ध गर्नुभएको हो।

सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन भएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिनुभयो।

काठमाडौँ महानगरपालिका–१३ ले तीन हजार १०० लाई अहिलेसम्म राहत वितरण गरेको छ। वडाले गत चैत २२ गतेदेखि राहत वितरण शुरु गरेकामा आजसम्म सातपटक खाद्यवस्तु प्रदान गरेको हो । वडा कार्यालयले चामल, चिउरा, दाल, नुन र तेल वितरण गरेको छ। 

सम्बन्धित घरधनीको घर नम्बर, नागरिकता नम्बर, सम्पर्क नम्बर, सिफारिसका साथै राहत लिनेको नागरिकता नम्बर अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएको छ। 

यसैबीच, लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई समाज उत्थान महिला मञ्चले राहत वितरण गरेको छ ।

लक डाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रका मजदुर, अपाङ्गता भएका व्यक्ति र सुत्केरी महिलाहरुलाई राहत वितरण गरिएको हो । पहिलो चरणमा ३ सय जनालाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो। प्रतिव्यक्ति १० किलो चालम, २ लिटर तेल, १ किलो नुन र २ वटा हातधुने साबुन हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । राहतका लागि ४ सय जनाले नाम लेखाएका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष खेमराज तिवारीले वडासँगको सहकार्यमा महिला मञ्चले राहत वितरण गरेको बताउनुभयो । लक डाउनको प्रकृया लामो भएमा पुनः राहतका प्याकेज घोषणा गरी वितरण गर्ने उहाँले बताउनुभयो।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले संगठित क्षेत्रका मजदुरहरुलाई सम्बन्धित संघसंस्थाहरुले राहत विरतण गरेपनि असंगठित क्षेत्रका मजदुर समस्यामा परेको बताउनुभयो।

महिला मञ्चले नयाँ बसपार्क क्षेत्रमा राहत वितरण गरेको हो। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लक डाउन घोषणा गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य असंगठित क्षेत्रमा काम गर्ने व्यक्तिहरु प्रभावित बनेका छन् ।   


प्रतिक्रिया दिनुहोस्