सीमापारिबाट उद्धार गरी क्वारेन्टाइनमा सार्दा सार्दै एक वृद्धको निधन

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : १८


काठमाडौं । नेपाल–भारत सीमा महाकाली पारी झुलाघाटबाट उद्धार गरेर ल्याइएका बैतडीका एक वृद्धको निधन भएको छ।

बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएका पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ७ बजे निधन भएको हो।

दमको रोगी रहेका वृद्धको त्यहीँ समस्याका कारण मृत्यु भएको हुनसक्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो। 

लकडाउन अगाडि नै दमको रोगको उपचारको सिलसिलामा भारतको उत्तराखण्डको पिथौरागढ गएको र फर्किनुअघि नै लकडाउन भएपछि उतै रोकिएको जानकारी आएको प्रजिआ पौडेलले बताउनुभयो।

बिहीबार राति नेपाल आएका वृद्धलाई सुरुमा दशरथचन्द नगरपालिकाको एक विद्यालयमा राखिएको थियो। शुक्रबार पुरचौर्डी नगरपालिकाको एक क्वारेन्टिनमा ल्याइएका उहाँलाई शनिबार अर्को क्वारेन्टिनमा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। 

मृतक ती वृद्धको स्वाब परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो।

सरकारले बिहीबार महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरेको थियो।


प्रतिक्रिया दिनुहोस्