कोरोना विरुद्ध रेम्डिसिभिर औषधी प्रयोग गर्न अमेरिकाको अनुमति, बिरामीलाई इन्जेक्सनबाट दिइन्छ यो औषधी

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ३२


अमेरिकाले कोरोना भाइरस (कोभिड १९) को उपचारका लागि  ‘रेम्डिसिभियर’ औषधि प्रयोग गर्न अनुमति दिएको छ। 

शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो।

यो औषधी अमेरिकाकै औषधि कम्पनी ‘गिलियाड साइन्स’ले बनाएको हो। 

मानिसमा गरिएको परीक्षण क्रममा ‘रेम्डिसिभियर’ औषधिले कोरोना भाइरस नष्ट गरेको अनुसन्धाकर्ताले दाबी गरेसँगै सरकारले औषधी प्रयोगका लागि अनुमति दिइएको हो।

अब यो औषधि इन्जेक्सनमार्फत बिरामीलाई दिइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। तर यो औषधिले कोरोनाबाट हुने मृत्युदरलाई कति हदसम्म कम गर्छ भन्ने कुरा अहिल्यै स्पष्ट भइनसकेको विज्ञले बताएका छन्।

प्रारम्भिक रूपमा १ लाख ४० हजार बिरामीका लागि ‘रेम्डिसिभियर’ औषधि बनाइएको कम्पनीले जनाएको छ।यसले एघार दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ ।

सुरुमा सन २०१४ मा देखिएको इबोला संक्रमण उपचारका लागि यो औषधि पहिलोपटक बनाइएको थियो। तर त्यसमा यसले खासै प्रभाव गर्न नसकेको विज्ञको भनाइ छ।

अहिले विश्वमै कोरोना भाइरसको संक्रमणबाट पीडित देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ‘रेम्डिसिभियर’ औषधिले महत्वपूर्ण काम गर्ने भन्दै खुसी व्यक्त गरेका छन्।

अमेरिकी सरकारको सरुवा रोगसम्बन्धी प्रमुख विज्ञ डा‍क्टर एन्थोनी फाउचीले भने परीक्षण नतिजा प्रभावकारी देखिए पनि यो औषधिले कोरोना निर्मूल नै हुन्छ भनेर ढुक्क भइहाल्न भने नसकिने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस्