वास्तविक मजदूरलाई थाहा छैन, मजदूर दिवस

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : ४६


घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै आज समय उसैगरी घुम्दै आएको छ । जो बितेका बर्षहरुमा आउने गथ्र्यो । हो, त्यसैगरी नै आयो फेरि अर्को अन्तर्राष्ट्रिय मजदूर दिवस । तर यो दिवस पनि वास्तविक मजदूरलाई थाहै नपाई जानेछ पोहरका बर्षहरु जस्तै ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा शुक्रबार विश्वभर १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । संसारका मजदूर एक हौ, आप्रवासी श्रमिकहरुको अधिकार सुरक्षित गर जस्ता मजदूरका हकहितका नाराहरु लिएर शुरु भएको आन्दोलनको सफलतास्वरूप स्थापित भएको मजदूर दिवस विगतका बर्षहरुमा भन्दा फरक हुने देखिन्छ ।

कारण हो विश्वमा फैलिएको कोरोना भाइरस  । सधैंका अन्तर्राष्ट्रिय मजदूर दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने गरिन्थ्यो ।

वास्तविक मजदूरहरुलाई थाहै नदिएर शहरका तारे होटेलहरुमा आयोजना गरिने मजदूर दिवसको प्रारूप यसपालि फेरिने भएको छ । विश्वका झण्डै २०० भन्दा बढी देशहरुमा कोरोना भाइरसको सन्त्रास फैलिएपछि उत्सवका दिन अधिकांश देशहरुका तारे होटेल बन्द हुनेछन् । सुकिला कपडा लाएर मजदूर मुक्तिका लागि कुर्लिने सडकहरु खाली खाली हुनेछन् ।

सामान्य अवस्थामा विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिकरूपमा सार्वजनिक विदा दिएर मुक्ति दिवसका रुपमा मनाइने यस दिवसमा विश्वका अधिकांश देशहरुमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउनमै सम्पन्न हुने भएको हो ।  

आजभन्दा १३० बर्ष अगाडि सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागो शहरको हेय मार्केटमा भएको मजदूर काण्डको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धित मुद्दाको लागि विशेष अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइन्छ । यस दिन श्रमिकहरुले दैनिकरुपमा ८ घण्टा मात्र काम गर्ने भन्दै गरेका थिए ।

यो भन्दा अगाडि  सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घण्टासम्म पनि काम गर्दथे । मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ । आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट शुरु गरिएको हो । विदाको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको विदा अनि काम गर्ने समयको निर्धारण गरी ८ घण्टा गराउन यसै दिन धेरैजना श्रमिकले ज्यान गुमाएका थिए । 

कुनै पनि राष्ट्रको विकास निर्माणका पहरेदारहरु मजदूर नै हुन् । मजदुरबिना कहीँकतै कुनै विकास निर्माण सम्भव छैन । तर, तिनै विकास निर्माणका पहरेदारहरुलाई हेय र तुच्छ दृष्टिले हेरिनु र रोबटले जस्तै दैनिक १६÷१७ घण्टा काममा लादिनु आफैमा न्यायोचित नभएकाले आन्दोलनको आँधस्बेहरी सिर्जना हुन पुगेको हो ।

यही मजदुर मुक्तिको नारा लिएर आन्दोलनमा उत्रिएका मजदूरमाथि ४ मे १८८६ का दिन अमेरिकाको शिकागो शहरको हेय बजारमा भएको बम धमाकाका कारण मजदुरहरुले आहुति दिए । मजदूर मुक्ति आन्दोलन सफल भएपछि तिनै मारिएका मजदूरलाई साँचो श्रद्धाञ्जलि दिन अनि विश्वभरिका मजदूरलाई एकै सूत्रमा बाँध्न यो दिवस मनाउन शुरु गरिएको हो ।
 
अमेरिकाको शिकागो शहरमा मजदूरहरुले आफ्नो हकको लागि लडाइँ लड्ने सङ्कल्पका साथ आन्दोलन शुरु गरेका थिए । त्यतिबेला आम मजदूरले १६ र १७ घण्टा काम गर्नु  बाध्यता थियो । यसको मजदूर सङ्गठनले ब्यापक बिरोध गर्दै ८ घण्टा काम र ८ घण्टा आराम गर्न पाउनु पर्छ भनी आफ्नो माग जोडदाररुपमा पेस गरेका थिए ।

सोही मागलाई लिएर शिकागो शहरको हेय बजारमा आयोजित मजदूर र्यालीमाथि अज्ञात समूहद्वारा बम प्रहार गरिएको र सो दुःखद घटनामा कैयौं मजदूर शहीद हुनुका साथै केही मजदूर घाइते पनि भएका थिए । शिकागोबाट शुरु भएको उक्त आन्दोलनको आगो विश्वभरि फैलियो । यसै आन्दोलनबाट प्रेरित भएर फ्रान्सको पेरिस शहरमा सभाको आयोजना गरियो । उक्त सभामा सबैभन्दा पहिले शिकागो शहरमा शहीद भएका मजदूर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । 

सन १९८९ मा पेरिसमै भएको बैठकद्वारा प्रत्येक बर्ष मे १  तारिकका दिन अन्तर्राष्ट्रिय मजदूर दिवस र श्रम दिवसको रुपमा मनाउने निर्णय गरियो । ८ घण्टा काम गर्ने, ८ घण्टा आराम गर्ने समय तोकिनु पर्दछ भन्ने माग गर्दै १८८६ मा अमेरिकाको शिकागोमा काम गर्ने  मजदुरहरुले शुरु गरेको उक्त आन्दोलनको दिनको सम्झनामा विश्वका मजदूरहरुले अन्तर्राष्ट्रिय मे दिवस मे १ तारिकका दिन मनाउँदै आइरहेका छन् ।

कुनै पनि राष्ट्रको विकास निर्माणका पहरेदार मजदूरहरुलाई थाहै नदिएर मजदूरको समर्थनमा गरिने आन्दोलन तथा मुक्ति सभा सुकिला अधिकारवादीहरुको लागि तारे होटेलहरुमा गएर चियर्स गर्ने एउटा महाउत्सव मात्र हुने छ ।

यसका लागि विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरुले आफ्नो राष्ट्रका वास्तविक मजदूरहरुका लागि मे १ का दिन बिशेष कार्यक्रमको आयोजना गर्ने र त्यो कार्यक्रमलाई एउटा उत्सवकै रुपमा मनाउन देशभरिका मजदूरहरुलाई एकीकृत गर्न आवश्यक छ ।
वर्तमान परिवर्तित युग श्रम अनि श्रमिकको युगका रुपमा चिनिन्छ । यसै युगको  शुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको शुरुवात भएका हुन् । यी उद्योग अनि औधोगीकरणमा मजदूरको भूमिका महत्वपूर्ण हुन आउँछ । 

त्यसैले मजदूरहरुका लागि आयोजना गरिने यी यस्ता दिवसहरुले वास्तविक मजदुरहरुका पक्षमा केही नौला कामहरु गर्न सक्नुपर्छ । अनि मात्र मजदूरका हित हुनेछ । त्यसो गर्न सकिएन भने वास्तविक मजदूरहरुलाई थाहै नदिएर मनाउने मजदूर दिवसको महत्व विश्वका विभिन्न मुलुकबाट ओझेल पर्ने कुराका लागि कुनै आइतवार पर्खनु पर्ने छैन । 
 


प्रतिक्रिया दिनुहोस्