म मजदुर
हामी मजदुर
म र हामी मजदुर
खोलामा रगडिने
इट्टाभट्टाको भट्टीमा
दैनिक आगोको राप ताप्ने
अरुको जुठा भाँडोमा धसिएर
हात कुहाउँदै परिवार पाल्ने
मजदुर
आलिसान महलमा लम्पसार परेर
महंगो गाडीमा सयर गर्दै
बडो सुरक्षासंग
साइरन बजाउँदै हुइँकिनेहरु
श्रमिककै टाउकोमा टेकी
रातादिन श्रमिककै पसिना चुस्दै
दुखका बाँधहरुलाई
क्षणभरमा भत्काउने अमिरहरु
सुन खोलाका वगरका कथाहरु
श्रमिकलाई चुनावी भर्याङ बनाई
चुनाव जित्ने कमिनाहरु
सुन
चुनावपछि बदलिएको हाम्रो दैन्दिनीको उपन्यास
तिमी चुनाव जित्यौ
गयौ,
घर बनायौ
गाडी किन्यौ
घडेरी किन्यौ
तर,
यता गाउँतिर
भोक छैन
तीर्खा छैन
घाम छैन
पानी छैन
बिग्रिएको बयल गाडाको काठको चक्का फेर्ने
प्लाष्टिक र कवाडीहरु जम्मा गर्ने
साइकलको चेन फेर्ने
एक सुको पनि
छैन
हेर त तिमी बदलिएपछि
हामी कति धेरै बदलिएछौँ?
जहान मर्लान् भनेर बचाउन
रातदिन घोटिएका छौँ
जमिनसंग
बालुवा, गिट्टी
ढुंगा, माटो
सिमेन्ट, छडसंग
रात दिन तिनै पेल्दा पनि
सधैँ झगडा हुन्छ
घरसंग
छोरासंग
छोरीसंग
चुरा भएन भनेर
पेन्सिल भएन भनेर
हेर नेता ज्यू!
हामी कति बदलिएका रहेछौँ
तिमीले त बिर्सियौ क्यारे
चुनाव हुँदा
तिम्रो पार्टीको झण्डा बोक्ने बेला
मेरो साइकलको टिल्ली भाँचिएको थियो
चुनावपछि बनाउन आउँछु भन्थ्यौ
तर खै आएनौ
किन आएनौ?
आज यी हातका नङ्ग्रा
यी पाइतालाहरु
सिमेन्ट र बालुवाले
पट्पट् फुटेका छन्
एक दिन मात्रको
श्रमिक दिवस
अब हामीलाई कदापी स्विकार्य छैन
र स्विकार्य छैन
ओँठे वचन र प्रतिवद्धताहरु
आफ्नै रगत र पसिना पिएर
बाँच्ने बानी परेका हामीलाई
चाहिँदैन
जाली आश्वासन्का महलहरु
वस् हामीलाई
विहान साँझ
एक छाक तिउन
एक ढिक्का नुन
एक टुक्रो नुन जम्मा गर्ने
वातावरण बनाई देऊ
चाहिँदैन हामीलाई
रेल र पानी जहाजका सपनाहरु
हामीलाई हाम्रा हल गोरुहरुले पुगेको छ
हाम्रा गाडाहरुले पुगेको छ
विन्ति गछौँ
मात्र गरि खाने शान्तिपूर्ण वातावरण देऊ
अन्यथा हामी
हाम्रो स्वतन्त्रताको लागि
हँसिया, हथौडा
कुटो, कोदाली अनि बेल्चा बोकेर
आफ्नै न्यायका निम्ति
अनवरत लडिरहने छौँ
अनवरत लडिरहने छौँ
थाक्ने छैनौँ!