मजदूर दिवस, विद्यमान अवस्था र राज्यप्रतिको अपेक्षा

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ११ : ५७


आज मई १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस। आज भन्दा १३१ वर्षअघि श्रमिक मजदूरहरुको हक अधिकारका निम्ति काम गरि खाने वर्गले संगठित रुपमा आवाज उठाएको दिन। यो ऐतिहासिक दिनको अवसरमा सर्वप्रथम समस्त मजदूर वर्गमा हार्दिक शुभकामना। यसपटकको श्रमिक दिवस अरु वर्षभन्दा निकै पीडादायी बन्न पुगेको छ। उसो त वास्तविक काम गरि खाने मजदूरहरुलाई कहिले पो फरक थियो र? झन् यस वर्ष श्रमिकहरुलाई काम गर्न पनि नपाइने स्थिति सिर्जना भएको छ। 

विश्वकै मानव समुदायका लागि ठूलो संकट बनेर उभिएको कोरोना भाइरस (कोभिड १९) को महामारीले सारा संसार ठप्प भएको अवस्था छ। विश्वका ठूल्ठूलादेखि साना उद्योग, कलकारखानाहरु बन्द भएका छन्। सहर, सडक सुनसान बनेका छन्। मान्छेहरु घरभित्र कैद भएका छन्। श्रम गरेर परिवारको जीविका चलाउने श्रमिकहरुको बिचल्ली भएको छ। काम गर्नलाई उद्योगधन्दाहरु खुला छैनन्। महामारी संक्रमणको डरले घर, डेरा र जो जहाँ छन्, त्यहीँ कैदीजस्तै बनेर बस्नुपरेको छ। यो मानव विनासक महामारी कहिले रोकिएला र मजदूर वर्गले आफ्नो रोजीरोटीका लागि काम गर्ने वातावरण बन्छ? यो निकै पीडादायी पर्खाइको समय बनेको छ।

सञ्चारमाध्याममा आइरहेका समाचार अनुसार यो महामारीले अहिलेसम्म २०० बढी देशका ३३ लाख बढी संक्रमित भइसकेका छन् भने २ लाख ३३ हजारभन्दा बढीको ज्यानसमेत गइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वास्थ्य संकटकाल घोषणा गर्दै मानव समुदायको रक्षाका लागि एकजुट भई कोरोना महामारीविरुद्ध लड्न अपील गरिरहेको अवस्था छ।

कोरोना महामारीले विश्व नै भयावह अवस्थाबाट गुज्रिरहँदा हाम्रो देश नेपाल रहन सकेको छैन। नेपालमा आजसम्मको स्थिति हेर्दा ५९ जनामा संक्रमण देखिइसकेको छ र यसको प्रभाव विस्तारकै क्रममा रहेको छ। कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले गत चैत्र ११ देखि पूर्ण लकडाउन गरिरहेको छ। लकडाउनको आज ४० औं दिन पुगिसक्दा कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धि त भएको छ। तर, दैनिक ज्यालादारी मजदूर र घरभन्दा टाढा गएर मजदूरी गरिरहेका श्रमिकहरुको विजोग भएको छ। कयौं मजदूरहरु भोकै, प्यासै दश पन्ध्र दिनसम्म पैदल हिडेर समेत घरसम्म पुगेका छन्। 

लकडाउनको बेला अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द भएकोले विदेशमा रहेका नेपाली श्रमिकहरु पनि अर्काकै देशमा अलपत्र परिरहेको अवस्था छ। उता भारतबाट स्वदेश फर्किएका सयौं नेपालीहरुले दशगजा क्षेत्रमै करिब १ महिना कष्टकर दिन बिताएर हिजो आज मात्रै घर फर्किन थालेका छन्।

उसो त सरकारले विपन्न, गरिब, दैनिक ज्यालादारी र अलपत्र मजदूरहरुलाई राहत दिने घोषणा गरेको भए पनि लक्षित वर्गसम्म नपुगेको गुनासो व्यापक बन्दै गइरहेको छ। यसतर्फ सरकारले विशेष ध्यान जानु जरुरी छ।

देश कोरोना संकटबाट गुज्रिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएसँगै राजनीतिक दल, नेता, कार्यकर्ताहरु राजनीतिक लडाभाँतीमा समेत लागेका छन्। यसले आम नागरिकहरुलाई थप दुःखित बनाउनुका साथै सरकार, राजनीतिक दल र नेताहरुप्रति आक्रोश पैदा गरिदिएको छ।

चार पाँच दिनको राजनीतिक चर्चा, परिचर्चापछि अध्यादेश त फिर्ता भएको छ तर त्यो सँगै दलहरुबीच बढेको विवाद तथा सरकारप्रतिको अविश्वास बढेर गएको छ भने सत्तारुढ नेकपाभित्रको विवाद प्रधानमन्त्रीको राजीनामासम्म पुगेको छ। यो राजनीतिक लडाईंले कोरोना विरुद्धको लडाईं कमजोर त बनेको छ नै, जनतामा पनि निरासा बढ्दै जान थालेको छ। 

कोरोनाको संकटसँगै आएको नेपालको राजनीतिक संकटले यस वर्षको मजदूर दिवस त्यसै ओझेल परेको छ। सरकारलाई आफ्नै कुर्सी जान्छ कि भन्ने पीडाले सताएको बेला वास्तविक मजदूरहरुका पीडा कसले बुझिदिने?

 

मजदूर आन्दोलनको संक्षिप्त इतिहास

१८ औं शताब्दीमा जतिबेला युरोपमा उद्योगको विकास हुन थाल्यो, त्यहाँ मजदूरहरुको संख्या बढ्न थाल्यो। त्यसपछि मजदूरहरुले काम गर्दा आइपरेका समस्याहरुको समाधानका लागि पहल गर्न थाले। त्यहीँबाट नै मजदूर आन्दोलनको उठान भएको पाइन्छ। 

पहिलोपटक सन् १८८६ मे १ का दिन अमेरिकाको शिकागो शहरबाट उत्पन्न भएको मजदुर आन्दोलनमा लाखौं श्रमिक मजदुरहरु सडकमा उत्रिएर आन्दोलन गरेका थिए। 

'८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन'को मागसहित सुरु भएको आन्दोलन ३ दिनसम्म लगातार चलेको थियो र ६ जना मजदुरले शहादत प्राप्त गर्नुभएको थियो। आन्दोलनसामु निरीह बनेको तत्कालीन अमेरिकी सरकारको व्यापक दमनको प्रतिशोध गर्दै आन्दोलन निरन्तर जारी रहँदा अन्तत अमेरिकी सरकार झुक्न बाध्य भयो र माग सम्बोधन गर्न तयार भयो।

त्यसपछि सन् १८८६ अगष्ठ २० मा बाल्टिमोरमा भेला भएका ६० जनाको मजदूर समुहले सर्वप्रथम ८ घण्टा कामको माग राख्दै नेसनल लेबर युनियन गठन गरी जसको नेतृत्व प्रभावशाली मजदुर नेता एचबी सिल्बिसले गर्नुभएको थियो। 

फलस्वरूप सन् १८८९ बाट फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस मे १ बाट विश्वव्यापी रुपमा मनाउने निर्णय गर्यो। 

नेसनल लेबर युनियनले उठाएको ८ घण्टा कामको मागलाई कार्ल माक्स र फ्रेडरिक एङ्गेल्सले समेत जोडले समर्थन गर्नुभएको थियो।

सन् १८६७ मा प्रकाशित भएको पुँजीको प्रथम खण्डमा कार्ल माक्र्सले '८ घण्टा कामको समर्थनसहित काल र गोरा जातिबीचको श्रमिक भेदभाव'को कट्टर आलोचना समेत गर्नुभएको छ। पुँजीपति वर्गले मजदुर वर्गका कामहरुलाई सम्बोधन गर्न नमानेपछि समाजवादी विचारधारा विश्वव्यापी रुपमा व्यापक रुपमा प्रचार समेत भएको थियो र समाजवादी चेतनाले मजदुरवर्गलाई थप चेतना र हौसला बढाएको थियो।

नेपालको इतिहासमा भने 'बिराटनगर मजदुर युनियन' गठन गरी गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा सन् २००३ मा बिराटनगर मजदुर आन्दोलन सुरु भएको थियो। मे १ अर्थात मजदुर आन्दोलनसँग विश्वव्यापी रुपमा नेपाली मजदुर वर्गको इतिहास, संघर्ष र श्रमिक वर्गसँग सम्बन्धित अन्य विषयवस्तुहरु आवद्ध भएका छ्न्।

नेपालमा श्रमिक वर्गको विद्यमान अवस्था

नेपालमा उद्योग कलकारखानाको व्यापक विकास नभए पनि किसान, दैनिक ज्यालादारी, श्रमिक मजदुर वर्ग धेरै संख्यामा छन्। नेपालामा दक्ष जनशक्तिभन्दा अर्धदक्ष र अदक्ष जनशक्ति धेरै छ। नेपालमा लाखौं नेपाली श्रमिक वर्गहरु अमेरिका, भारत, अष्ट्रेलिया, मलेसियालगायत खाडी मुलुकहरुमा पलायन भएका र उनीहरुको आम्दानीको स्वरुप देश रेमिट्यान्सले निर्भर भएको अवस्था छ। 

विश्व महामारीको रुपमा देखा परेको नोबेल कोरोना भाइरसका कारण लाखौं नेपाली श्रमिक वर्गहरु स्वास्थ्य तथा रोजगार जोखिममा भई रोजगार गुमाउनुपर्ने चुनौती आइपरेको छ। कतिपय विदेशमा रहेका नेपाली नागरिको मृत्यु हुनुका साथै स्वास्थ्य अवस्था अन्त्यन्त जटिल भएको छ। कोही भिसाविहीन तथा भिसा म्याद सकिएका नागरिकहरु पनि कोरोनाको जोखिमको चपेटामा छन्।

अन्तर्राष्ट्रिय आप्रवाससम्बन्धी कानुनले आप्रवासी सबैलाई सम्बन्धित देशका नागरिक र श्रमिकसरह सुरक्षित बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। उनीहरुलाई कूटनीतिक पहलमार्फत् स्वदेशमा फर्कन उचित वातावरणको व्यवस्था गर्न आवश्यक छ। यस्तो विपतको घडीमा उनीहरुलाई नेपाल सरकार र विदेशी कूटनीतिक नियोगहरुले स्वास्थ्य, खानेपानी र जीवन रक्षाको लागि गम्भीर पहल गरेर मात्र देशमा सुशासन, सुव्यवस्थासहितको सरकार भएको अनुभूति गर्न सकिन्छ। 

त्यस्तै नेपालभित्रका अलपत्र विपन्न नागरिकको पहिचान गरि सरकारले स्वास्थ्य खानेपानी र सुरक्षाको उचित व्यवस्थापन गर्नु अहिले अपरिहार्य छ र छिमेकी देश भारतबाट अलपत्र परेका नागरिकको पनि उदार गर्न प्रभावकारी नीति अवलम्बन गरिनुपर्छ।

अहिले देशमा कम्युनिस्ट सरकार छ। कम्युनिस्ट सिद्धान्तलाई आदर्श मान्ने, मजदुर तथा किसान वर्गलाई लक्षित गरी घोषणापत्रमार्फत् चुनावी प्रतिवद्धता जाहेर गर्ने, मजदुर वर्गको हकहितको लागि सबैभन्दा बढी लड्ने बहुमतसहितको सरकार छ तर बिडम्बना व्यक्तिको नाम फेरियो, जीवनशैली फेरियो, संस्था फेरियो राजनीतिक व्यवस्था परिवर्तन भयो तर मजदुरको अवस्था जहाँको त्यहीँ छ। प्रणाली रुपान्तरण भयो तर मजदुर वर्गका अगुवाहरुको चरित्र उस्तै छ।

नेपालको राज्यव्यवस्था परिवर्तनको लागि ठूलठूला विद्रोहमा मजदुर वर्गले केन्द्रिय भूमिका निर्वाह गरेजस्तै बिराटनगर जुटमिल आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन, २०५२ देखि माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र जनयुद्ध, २०६२र०६३ को दोस्रो जनआन्दोलन हुँदै गणतन्त्र नेपालसम्म आइपुग्दा सबैखाले संघर्ष र आन्दोलनमा मजदुर वर्ग निर्णायक शक्ति बने तर उनीहरुको वृत्तिविकास र जीवनशैली जहाँको त्यहीँ भइरह्यो।

रुसमा लेनिनले मजदुर वर्ग र माओले चीनमा किसान वर्गको भरमा वर्गसंघर्षका ठूलाठूला ऐतिहासिक आन्दोलन सफल पार्नुभयो। त्यहीँ क्रान्तिको सफलताबाट उत्साहित नेपालका माओवादीले किसान, मजदूर र उत्पीडित वर्ग समुदायको बलमा जनयुद्धको शुरु गर्यो। १० वर्षको अन्तरालमा थुप्रै उत्पीडित वर्ग, समुदाय, किसान, मजदूरहरुले क्रान्तिमा ज्यानको बलिदानी गरे। त्यसको बलमा नेपालमा गणतन्त्रको स्थापना भयो। जनतामा राजनीतिक चेतनाको विकास त भयो तर खास परिवर्तन हुनुपर्ने वर्गको जीवनस्तर उस्तै रह्यो। गणतन्त्रपछि पनि फेरि उहीँ संसदीय परम्परागत प्रणालीमा पुगेर देश रुमल्लिरहेको छ।

मजदुर वर्गको हकहितको लागि खोलिएका पार्टीपिच्छे संगठनहरु कोही पार्टीका गोटी मात्रै भएका छन् भने कतिपय ट्रेड युनियनहरु मजदुर वर्गको मुद्दा उठाउने नाममा एनजिओ आइएनजिओ बनेर आर्थिक लाभ लिनतिर ठिक्क छन्। ट्रेड युनियनहरुमा एनजिओ आइएनजिओको समेत ठुलो लगानी भयो र मजदुरको नाममा ठूलो व्यापार भयो। सामन्तवाद र पुँजीवादको चक्रव्युहमा फसेर अन्ततः मजदुर वर्गको क्रान्तिकारी चरित्रको हत्यासमेत गर्ने कुचेष्टा गरियो।

महान दार्शनिक जोन लकले भनेजस्तै 'वास्तवमा मजदुर त्यो वर्ग हो जसले सबै चीजको आमुल परिवर्तन ल्याइदिन्छ।' जस्तो कि देशको आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनदेखि पुँजीको विकास गर्न श्रमिक मजदुर वर्गको प्रमुख भुमिका रहन्छ भने पुँजीको पूर्ण नियन्त्रण र परिचालन सीमित पुँजीपति वर्गरमालिकसँग मात्र रहन्छ जसले पुँजीवादी व्यवस्थामा मजदुर वर्ग र पुँजीपति वर्गबीच ठूलो दुरीको खाडल गराइदिन्छ। त्यसकारण, श्रमिक वर्गको हकहित र जीवन अवस्था सुधार्नको लागि समाजवादी व्यवस्था सम्मुनत समाज निर्माणको लागि अपरिहार्य छ जो श्रमिक वर्गको आम संघर्षबाट मात्र सम्भव छ।

नेपालको सन्दर्भमा श्रम ऐन २०७४ लागु भएको छ। श्रम ऐनमा उल्लेखित विषयहरु उचित पारिश्रमिक, श्रमको समयमा भुक्तानी, स्वास्थ्य दुर्घटना बिमा, सामाजिक सुरक्षा भत्ता, ऐनमा तोकेबराबरको काम गर्ने अवधिलगायत नेपालको संविधान २०७२ धारा ३४ को श्रमसम्बन्धि हक प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको छैन। 

उदाहरणका लागि, गएको ४/५ महिनाअघि उखु किसानले उखु उद्योगबाट उखु श्रमको भुक्तानी नपाउँदा राजधानी आएर आन्दोलन गर्नु, राजधानीका बासिन्दालाई पानी खुवाउन विगत दुई दशकदेखि चलिरहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको इटालियन कम्पनीले श्रमिक मजदुर वर्गलाई ज्याला नदिएको, राजपत्रमा उल्लेख भएअनुसारको ज्याला नपाएपछि चिया किसानहरुले आन्दोलन गर्नु आदि।

 

श्रमिक वर्गको राज्यप्रतिको अपेक्षा

हाम्रो संविधानले नेपाललाई समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको देश उल्लेख गरेको छ। तर संविधानको कार्यन्वयनको अभावमा श्रमिक मजदुर वर्गको प्रमुख समस्या चुनौती भनेको न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षाको अभाव नै हो। दार्शनिक हेनरी जर्जले भनेजस्तै, निम्न स्तरको ज्याला क्रान्तिकारी मजदुर वर्गको उत्पादक हो जसले संसारलाई समेत खतम गरिदिन सक्छ।

श्रमिक मजदुर वर्गको राजनीतिक मुद्दा उठाई निर्वाचन प्रणालीमार्फत राज्यको नीति निर्माण तहमा पुगेको कम्युनिष्ट पार्टी सरकारको नेतृत्व गरिरहेको छ। कम्युनिस्ट पार्टीको दस्तावेजमा लिखित सिद्धान्त समाजवादउन्मुख जनताको जनवादको रुपमा अघि बढ्ने भनिएको छ। तर व्यवहार र चरित्र भने स्वस्थ प्रतिस्पर्धाविहीन, छलकपटपूर्ण, करछली र यस्तो उदारवादीजस्तो र पूर्ण पुँजीवादउन्मुख जस्तो देखिन्छ। धेरै पर जानै पर्दैन, पप्पु कस्ट्रक्सन, भाटभटेनी, एनसेल आदि काण्डहरु मात्रै काफी छन्। त्यस्तै पार्टीका नेता, कार्यकर्ताहरु सामुहिक जीवनपद्धति, सामुहिक चिन्तनभन्दा व्यक्तिगत स्वार्थ, सत्तामोह, गुट उपगुटमा चुर्लुम्म डुबेका छन्। 

श्रमिक वर्गहरु परिवर्तनका संवाहक र राज्यव्यवस्था निर्माणका प्रमुख हिस्सेदारी हुन्। समाजवादउन्मुख राज्यव्यवस्था बिकासको लागि राज्य, सरकार तथा सबै ट्रेड युनियनहरु मजदुरहरुको अधिकारको रक्षा गर्दै थप सशक्त र संवेदनशील हुनुपर्ने देखिन्छ। मालिक र श्रमिक वर्गको सम्बन्ध सुधारको दिशातिर अघि बढ्दै जनप्रतिनिधि निर्वाचन प्रणालीमा राज्य सत्ताको सबै तहमा मजदुर किसानलगायत सबै श्रमिक वर्गको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ, अनि मात्र श्रमिक मजदुर वर्गको प्रतिनिधित्व सहितको समाजवादउन्मुख समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार हुन्छ र समृद्ध नेपालको यात्रा सफलताको शिखरतिर लम्किन्छ।

विश्वका वर्गसंघर्षको ऐतिहासिक क्रान्ति आन्दोलनमा आमुल परिवर्तन ल्याउन सफल श्रमजीवी मजदुर वर्गको विगतको समीक्षा गर्दै वर्तमानलाई सुधार र निर्णायक बनाउन सकियो भने हजारौं श्रमिक वर्गको भविष्यले अन्धकारबाट उन्मुक्ति पाउने छ र श्रमिक वर्ग हामी सबैको आशा र भरोशाको दियो सधैं उज्ज्वल पारिरहन संसारका सम्पूर्ण किसान श्रमिक मजदुर वर्गहरु एकबद्ध भएर लागौं ताकि वर्गसंघर्षको इतिहास सदैव जीवित रहिरहोस्। तसर्थ नीतिगत रुपमै माओले भनेजस्तै, 'सयौं फूलहरुलाई फुल्न देऊ तर बिषाक्त झारपातलाई उखेली मजदुर वर्गको अधिकार सुनिश्चित गरौं।'

अतः विश्वभरिका श्रमिक मजदुर वर्गहरुले आफ्नो बलिदान, साहस र रगतसँग साटेको रगत र पसिनाको इतिहास हो मजदुर दिवस। त्यसैले मजदुर दिवस अर्थात् मई १ लाई कर्मकाण्डको रुपमा मात्रै भन्दा सम्पूर्ण श्रमजीवी मजदुर वर्गको कानुनी अधिकारको प्रत्याभूति र सुनिश्चितताको लागि एकजुट भएर लडिरहनु नै मजदुर वर्गको इतिहासको सम्मान हुनेछ। संसारका सबै श्रमिक मजदूर तथा किसानप्रति उच्च सम्मान सम्झनासहित पुनः अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना।

लेखक नेपाल विद्युत प्राधिकरणका प्राविधिक हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस्