आफ्नै गुप्तचर एजेन्सीको निष्कर्ष विपरित ट्रम्प भन्छन्, ‘ल्याबबाट कोरोना आयो’

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : १२


वासिंगटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस वुहानस्थित चिनियाँ भाइरोलोजी ल्याबबाट उत्पति भएकोमा आफू ढुक्क भएको बताएका छन्।

बिहिबार नियमित प्रेस व्रिफिंगका क्रममा ट्रम्पले आफ्नै खुफिया एजेन्सीले तयार पारेको प्रतिवेदन विपरित कोरोना चीनको प्रयोगशालामा बनेको बताएका हुन्। र उनले आफूले यसको प्रमाण देखेको समेत दाबी गरे।

यसभन्दा पहिले अमेरिकाको राष्ट्रिय खुफिया निर्देशकको कार्यालयले  भाइरस जनावरबाट आएको हो कि ल्याबबाट घटना भइ आयो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको थियो। तर, कार्यालयले यो पनि भनेको थियो की कोरोना भाइरस कुनै मानवले बनाएको होइन न त यो जानाजानी पैदा भएको थियो।

चीनले भने अमेरिकाको यस्तो आरोपको निन्दा गर्दै आएको छ।

गत वर्षको अन्त्यमा चीनको वुहान शहरमा देखा परेको यो भाइरसबाट अहिले विश्वभर ३३ लाख बढि मानिस संक्रमित भएका छन्। २ लाख बढिको मृत्यु भइसकेको छ।

गुप्तचर प्रमुखको कार्यालयले के भन्छ ?

अमेरिकी गुप्तचर एजेन्सीको निरीक्षण गर्ने नेशनल इन्टेलिजेन्सका निर्देशकको कार्यालयले बिहीबार कोभिड-१९ बारेको प्राकृतिक उत्पत्तिबारे ''व्यापक वैज्ञानिक सहमति'' भएको बताएको छ। 

(इन्टेलिजेन्स कम्युनिटी)ले ''संक्रमित जनावरहरूसँगको सम्पर्कका कारण भाइरस फैलियो या प्रयोगशालामा दुर्घटनाको नतिजा भएको भन्ने पत्ता लगाउन नयाँ सूचना तथा बौद्धिक अनुसन्धान जारी राख्नेछ।''

अमेरिकी गुप्तचरको यस्तौ बयानले हुन सक्ने भनिएका षडयन्त्रलाई खारेज गरेको थियो।

यस्तो षडयन्त्र पनि हुनसक्ने अमेरिका र चीन दुबैले आशंका गरेका थिए।

सुरुमा चीनले अमेरिकालाई जैविक हतियारका रुपमा कोरोना फैलाएको आरोप लगाएको थियो भने अहिले अमेरिकाले चीनलाई त्यस्तै आरोप लगाईरहेको छ।

गुप्तचर एजेन्सीले अनुसन्धान जारी राख्ने बताएको प्रसंगले यसको सम्भावना पूर्ण रूपमा खारेज भएको मानिएको छैन।

राष्ट्रपति ट्रम्पले भने अझै पनि चीनले गल्तीले वा कसैले उद्देश्यसाथ कोरोना भाइरस बनाएको हुन सक्ने जिकिर गरेका हुन।

ट्रम्पले महामारी सिर्जना गरेर चीनले आँउँदो चुनावमा आफूलाई हराउँने योजना बनाएको आरोप समेत लगेका थिए।

बुधवार राष्ट्रपति ट्रम्पले चीन नोभेम्बरमा हुने चुनावमा आफूलाई हराउन चाहेको जनाएका थिए।

यसअघि ट्रम्पले चिनियाँ अधिकारीलाई शुरुवाती अवधिमा भाइरसको जानकारी लुकाएको आरोप लगाएका थिए।

ट्रम्पले विश्व स्वास्थ्य संगठनको आलोचना गर्दै आर्थिक सहायता कटौती गरेका छन्।

अमेरिकाको पछिल्लो आरोपबारे चीनको विदेश मन्त्रालयले ट्रम्प संकट सम्हाल्न सक्षम नभएकाले यसबाट ध्यान हटाउन कोशिस गरिरहेको जनाएको छ।

चीनका विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना ट्रम्को आरोपलाई काउन्टर दिँदै कोरोना अमेरिकाबाटनै बाहिर आएको आरोप दोहोर्याए।

वासिंगटन पोस्टका अनुसार ट्रम्प प्रशासनले चीनलाई आर्थिक रुपमा सजाय दिने उपायहरू खोज्दैछ।
 


प्रतिक्रिया दिनुहोस्