प्रधानमन्त्री ओली किन खनिए मिडियामाथि?

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ०४


काठमाडौं । कोरोना भाइरसको संकटका बीच नेपालीले लकडाउनको अवस्था गुजारिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यामहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ।

१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले केही सञ्चारमाध्याम र सामाजिक सञ्जालहरुमा स्थिरता, स्थायित्व र विकास विरुद्ध अस्थिरतातर्फ धकेल्ने गरी समाचार सम्प्रेषण भइरहेको आरोप लगाउनुभएको हो।

'आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ,' प्रधानमन्त्रीले यसअघि भन्नुभएको छ, 'नेपाली समाजको परिवर्तन र अहिलेको स्थायित्व एवं विकासको परिस्थिति आफैं निर्माण भएको होइन । सही विचार र गन्तव्यमा आधारित बलिदानपूर्ण संघर्ष र सचेत प्रयासबाट मात्रै यस परिस्थितिको निर्माण भएको हो।'

प्रधानमन्त्रीको आक्रोश यत्तिमै रोकिएको छैन, उहाँले भिडियो सन्देशमा कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भन्दै कडा शब्द प्रयोग गर्नुभएको छ।

'एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो। आप्mना स साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु।'

सहकर्मीहरुलाई मौका छोपुवाको आरोप

नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्थामा अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भन्दै प्रधानमन्त्री ओलीले सरकारका निर्णय र कामप्रति प्रश्न उठाउनेहरुलाई अस्थिरता चाहने तत्वका रुपमा अथ्र्याउनुभएको छ।

कोरोना संकटले देश लकडाउनमा भएको बेला पार्टी फुटाउन सहज हुनेसहितको अध्यादेश ल्याएको र विपक्षी पार्टीलाई फुटाउन सांसदको राजनीतिक अपहरणमा सरकारकै संलग्नता रहेको भन्दै चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा सार्वजनिक भएको हो।

प्रधानमन्त्रीमा अहंकार बढेको र पार्टीलाई वेवास्ता गर्दै स्वेच्छाचारी व्यवहार देखाएको भन्दै सत्तारुढ नेकपाकै शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग्नेसम्म पुगेका छन्। पार्टीकै सचिवालय सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै राजीनामा दिन दबाब दिइरहेका बेला प्रधानमन्त्री ओलीले अप्ठ्यारो परिस्थितिमा मौका छोप्ने काम नगर्ने चेतावनी समेत दिनुभएको छ।

उहाँले आफ्ना आकांक्षाको आकाशतिर माथि माथि मात्र होइन, जनता भएतिर तल पनि हेर्न आग्रह गर्दै नेताहरुलाई अनुशासित र इमान्दार बन्न पनि आग्रह गर्नुभएको छ।

भिडियो सन्देशसहितको वक्तव्यमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, 'कमीकमजोरी भए सच्याउनु पर्छ। तर, अराजक होइन– अनुशासित हुनुपर्छ। समयको ख्याल गर्नुपर्छ। आफैंलाई घात गर्ने होइन– इमान्दार बन्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस्