कोरोना उत्पत्तिबारे अमेरिकी राष्ट्रपति ट्रम्पको दावी उनकै गुप्तचरले गलत भनिदिएपछि

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : ५७


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको प्रयोगशालाबाट निस्किएको आरोप लगाइरहँदा उनकै गुप्तचर निकायले त्यसो नभएको बताएको छ।

अमेरिकी गुप्तचर समूहहरूले कभिड-१९ रोग निम्त्याउने कोरोनाभाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको नभएको निर्क्योल गरेको छ। यद्यपि भाइरसको उत्पत्तिबारे उनीहरूले अझै जाँच गरिरहेका छन्।

न्याश्नल इन्टेलिजेन्सका प्रमुखको कार्यालयले उक्त भाइरस जनावरको सम्पर्क वा प्रयोगशाला दुर्घटना केबाट सुरु भएको थियो भन्नेबारे निकायहरूले हेरिरहेको जनाएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको एउटा प्रयोगशालाबाट भाइरस निस्किएको भनेका थिए।

चीनले कोभिड-१९ मानव निर्मित हो भन्ने सिद्धान्तको खारेज गरेको छ र अमेरिकी भनाइको आलोचना गरेको छ।

गुप्तचर प्रमुखको भनाइ

डाइरेक्टर अफ न्याश्नल इन्टेलिजेन्सुको कार्यालयले कोभिड-१९ को उत्पत्ति प्राकृतिक हो भन्नेबारे वैज्ञानिकहरूको व्यापक सहमति रहेको बिहीवार बताएको छ। उक्त कार्यालयले अमेरिकी गुप्तचर निकायहरूलाई हेर्छ।

'सङ्क्रमित जनावरको सम्पर्कमा आएर वा वुहानको एउटा प्रयोगशालाबाट दुर्घटना भएर यो भाइरसको उत्पत्ति भयो भन्ने सुनिश्चित गर्ने गुप्तचर निकायहरूले प्राप्त जानकारी र गुप्तचरी सूचनाका आधारमा परीक्षण गरिरहेका छन्,' उसले भनेको छ।

चीनको वुहान शहरमा सबैभन्दा पहिला गत डिसेम्बरमा यो भाइरस देखिएको थियो। संसारभरि अहिले ३२ लाखभन्दा बढीमा यो सङ्क्रमण फैलिइसकेको छ भने २ लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

कोरोनाभाइरस बारेको 'षड्यन्त्र सिद्धान्त'लाई लिएर अमेरिकी निकायहरूबाट बिहीवार पहिलो पटक यस्तो भनाइ आएको हो। त्यसले यो भाइरस मानवनिर्मित हो भन्ने सिद्धान्तको पर्दा उठाइदिएको छ।

यस्तो सिद्धान्त अमेरिका र चीनमा समेत चर्चामा छ। यो भाइरसलाई कतिपयले जैविक अस्त्र समेत भनिरहेका छन्।

प्रयोगशाला परीक्षणका क्रमणमा असावधानीवश कोरोनाभाइरस मानिसको सम्पर्कमा पुगेको थियो भन्ने सिद्धान्त अहिलेसम्म प्रमाणित भने हुन सकेको छैन।

ट्रम्पको आरोप भने चीनतर्फ नै

बिहीवार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो सिद्धान्तमा बढावा दिए।

पत्रकार सम्मेलनमा एक संवाददाताले सोधे, 'अहिले आएर तपाईंले केही देख्नुभयो जसले गर्दा वुहान इन्स्टिच्यु अफ भाइरोलोजी नै यो भाइरसको उद्गमस्थल थियो भन्नेमा तपाईंको विश्वासलाई उच्च तहमा पुर्‍यायोस्?'

ट्रम्पले जबाफमा भने, 'हो मसँग छ र मलाई लाग्छ( विश्व स्वास्थ्य सङ्गठनलाई लाज लाग्नुपर्ने हो किनकि उनीहरू चीनको जनसम्पर्क निकायजस्ता छन्।'

चीनले गल्तीले उक्त भाइरस बनाएको वा कसैले उद्देश्यका साथ यो बनाएको हुन सक्ने उनले बताए।

'मलाई थाहा छैन चीनमा कति मानिसहरूलाई हिँडडुल गर्न दिइएन, तर उनीहरू अन्यत्र सबैतिर हिँडिरहेका थिए। त्यो एकदमै खराब हो। त्यो उनीहरूका लागि जवाफ दिन निकै गाह्रो प्रश्न हो,' ट्रम्पले भने।

बिहीवार न्यूयोर्क टाइम्सले ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले गुप्तचर निकायलाई उक्त भाइरस वुहानको प्रयोगशालाबाट निस्केको हो वा होइन भन्नेबारे जाँच गर्न निर्देशन दिएको खबर प्रकाशित गरेको थियो।

बीबीसी


प्रतिक्रिया दिनुहोस्