कांग्रेस र मजदूर एक अर्काका सहयोगी- देउवा

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : २३


काठमाडौं । लकडाउनले श्रमिकहरु कष्टकर अवस्थामा रहेको जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

मे दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले कोरोनाका कारण लकडाउन हुँदा श्रमिकको अवस्था कष्टकर भइरहेको बताउनुभएको हो।

'अहिले पूरै विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वब्यापी रुपमै प्रताडित भएको छ। नेपाल पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकोले सम्पूर्ण नागरिकको जीवन सहज हुन सकेको छैन,' वक्तव्यमा भनिएको छ, 'यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ। श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। लक डाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु।'

कांग्रेस र मजदूर एक अर्काका सहयोगी भएको उल्लेख गर्दै सभापति देउवाले नेपाली कांग्रेसकै नेतृत्वमा पहिलोपटक नेपालमा मजदूर आन्दोलन भएको बताउनुभएको छ।

‘वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो। सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो। नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो,’ देउवाको विज्ञप्तीमा लेखिएको छ, त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ।’


प्रतिक्रिया दिनुहोस्